× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा भोलि देखि ५ देखि ११ वर्ष सम्मको बालबालिकालाई कोभिड विरुद्ध खोप लगाइने

    २ वर्ष पहिले

    असार-८, चितवनमा भोलि असार ९ गते देखि १८ गते सम्म ५ देखि ११ वर्ष सम्मको बालबालिकालाई कोभिड विरुद्ध खोप लगाइने भएको छ।

    जिल्ला स्वास्थ्य कार्यालय चितवनले आज (बुधबार) पत्रकारसँग अन्तक्रिया कार्यक्रम आयोजना गरि खोप अभियान सुरु गर्न लागिएको जानकारी दिएको हो ।

    दुई चरणमा विभाजन गरिएको अभियानमा पहिलो चरणमा असार ९ देखि १४ गतेसम्म रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा खोप अभियान सञ्चालन गरिने र दोस्रो चरणमा असार १४ गते देखि १८ गते सम्म भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा अभियान सञ्चालन हुने कार्यालयका निमित्त प्रमुख राम केसीले जानकारी दिए ।

    जिल्लामा रहेका ७० हजार ३८२ बालबालिकालाई फाइजर –बायोएनटेक खोप दिइने उनले जानकारी दिए । जस अन्तर्गत भरतपुर महानगरपालिकामा ३१ हजार ४ सय १२, रत्ननगर नगरपालिकामा ८ हजार ३ सय ७१, खैरहनी नगरपालिकामा ७ हजार ३ सय ५०, कालिका नगरपालिकामा ४ हजार १ सय ९२, राप्ती नगरपालिकामा ८ हजार ९ सय १४, माडी नगरपालिकामा ५ हजार ३ सय ६३ र इच्छाकामना गाउँपालिकामा ४ हजार ७ सय ८० जना बालबालिकालाई खोप लगाउन लागिएको कार्यालयले जनाएको छ ।

    केसीका अनुसार अभियानका लागि ७६ हजार ८ सय डोज खोप जिल्लामा आइसकेको छ । जिल्लामा रहेका ५४० खोप केन्द्रमार्फत बालबालिकालाई खोप लगाइने उनले जानकारी दिए । खोप अभियानमा ९४४ स्वास्थ्यकर्मी र एक हजार ३९४ स्वयंसेवीका परिचालन हुने उनले बताए ।

    भरतपुर महानगरपालिकामा २१४, रत्ननगर नगरपालिकामा ५८, खैरहनी नगरपालिकामा ६२, राप्ती नगरपालिकामा ६४, कालिका नगरपालिकामा ५३ वटा खोप केन्द्रबाट खोप लगाइँदै छ । माडी नगरपालिकामा ४१ र इच्छाकामना गाउँपालिकामा ४८ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप दिन लागिएको केसीले जानकारी दिए ।

    हरेक विद्यालयलाई खोप केन्द्रको रुपमा परिचालन गरिने उनले बताए । सामुदायिक र संस्थागत विद्यालयमा खोप खेन्द्र बनाइने छ । दुई सय बालबालिकाका लागि एकजना स्वास्थ्यकर्मी परिचालन गरिने उनले जानकारी दिए । खोप लगाएपछि सामान्य ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने लगायतका लक्षण देखिएमा आत्तिनु पर्ने अवस्था नरहेको कार्यालयले जनाएको छ ।

    गम्भीर प्रकृतिका बिरामी र उच्च ज्वरो आएका बिरामी बालबाललिकालाई यो खोप दिन नहुने सो अवसरमा जानकारी दिइएको थियो । पहिलो पटक खोप लगाएको २१ दिन पछि अर्थात साउन २ गतेबाट दोस्रो डोजको खोप अभियान सुरु गरिने केसीले बताए ।