× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज चेपाङ समुदायको न्वागी (छोनाम) पर्व

    २ वर्ष पहिले

    भदौ -२२, चेपाङ समुदायले आज न्वागी (छोनाम) पर्व मनाइँदै छ । न्वागी (छोनाम) पर्वको उपलक्ष्यमा बागमती प्रदेश सरकारले चेपाङ समुदाय बसोबास गर्ने चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिएको छ।

    चेपाङ समुदायको ठूलो पर्वका रूपमा लिइने न्वागी विगत वर्षमा जस्तै यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव आइतसिङ चेपाङका अनुसार चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते यो पर्व मनाउँदै आएको छ ।

    चेपाङ समुदायले धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा न्वागी पर्व मनाउने गरेको उहाँले बताउनुभयो । महासचिव आइतसिङका अनुसार चेपाङ समुदायमा नयाँ अन्न भित्रिएकाले आफ्ना पितृलाई विधिपूर्वक पूजाआजा गरी नयाँ अन्न र फलफूलहरू चढाएर मात्रै आफूले खाने चलन छ । पितृलाई नचढाई खाएमा रोगव्याधि लाग्छ भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । सो दिन उनीहरूले कुखुराको बलिसमेत दिने गर्छन् ।

    न्वागीका दिन चेपाङ झाँक्री पान्देहरूले रातभर ढ्याङ्ग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन छोरीचेलीले ल्याएको कोसेली सगुन खाई सांस्कृतिक नाच र गीत प्रस्तुत गर्ने गर्दछन् । रातभर दोहोरी गाउने केटाकेटी चिनजान गर्ने र मन मिले सोही रात भगाएर विवाह गर्ने प्रचलनसमेत रहँदै आएको उहाँले बताउनुभयो ।

    विसं २०६३ देखि चेपाङ समुदायले नेपाल चेपाङ सङ्घको आयोजनामा यो पर्व सामूहिक रूपमा मनाउँदै आएको हो । त्यसअघि चेपाङ समुदायले परापूर्वकालदेखि नै टोलटोलमा जम्मा भएर यो पर्व मनाउँदै आएका थिए । सङ्घले चेपाङ समुदायको बसोबास गर्ने जिल्ला र पालिकामा हरेक वर्ष आलोपालो गरी कार्यक्रम आयोजना गर्दै आएका छन् ।