× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    नेपाली सेनाका तिर्थबहादुर तामाङले जिते लिगलिगकोट–गोरखा दरबार म्याराथुन

    २ वर्ष पहिले

    भदौ -२५, तीन घण्टा ११ मिनेट १ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दुरी पार गर्दै शनिवार गोरखामा भएको म्याराथुन दौडमा नेपाली सेनाको भबानी दल गणका जमदार तिर्थबहादुर तामाङ बिजयी भएका छन् ।

    ‘लिगलिगकोट–सिरानचोक–गोरखा दरबार दोस्रो खुल्ला म्याराथुन दौड २०७९’ मा सहभागी ९३ जनालाई पछि पार्दै तामाङ उपाधी उचाल्न सफल भएका हुन् । उनले नगद एक लाख ५० हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाएका छन् ।

    गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेना रिपुमर्दन गणको आयोजनामा भएको प्रतियोगितामा तीन घण्टा १२ मिनेट १७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै भारतीय सेनामा कार्यरत अनिश थापा मगर दोस्रो भए । उनले नगद एक लाख पुरस्कार पाएका छन् । एक मिनेट १६ सेकेन्डको अन्तरले उनी उपबिजेता भए ।

    नेपाली सेनाको बरख गणका मोहनदेव जोशीले तीन घण्टा १५ मिनेट १५ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भए । उनले नगद ७५ हजार पाएका छन् । चौथो र पाँचौ भएका चण्डिप्रसाद गणका देबराज महत्तरा र भिमकाली गणका गोबिन्द कार्कीलाई क्रमस ५० र ३५ हजार पुरस्कार प्रदान गरियो ।

    १० जना भित्र पर्न सफल सोलोखुम्बु महाकुलुङका अर्जुन राई कुलुङ, महेन्द्र दल गणका थमबहादुर अधिकारी, सिरानचोक ५ गोरखाका अशोक बराम, भुतपूर्व सैनिक रैबतबहादुर दाहाल र महाविर सौर्य गणका बिमल खड्का लाई क्रमस ३०, २५, २०, १५, १० हजार पुरस्कार प्रदान गरिएको छ ।

    इतिहासको प्रर्वद्धन गर्न एकिकृत ट्रेलको रुपमा बिकास गर्न नेपाली सेनाको शक्रियतामा सिरानचोक गाउँपालिका, पालुङटार र गोरखा नगरपालिकाले विसं २०७६ देखि यो म्याराथुन सुरु गरेका हुन् । कोरोना प्रभावका कारण दुई वर्ष रोकिएको दौड अहिले संचालन भएको रिपुमर्दन गण गोरखाका गणपति हेम बिष्टले बताए ।

    विसं १६१६ मा भदौ २५ गते राजा द्रब्यशाहाले दौड जितेर गोरखा राज्यको राज्यभिषेक गरिएको इतिहास छ । गोरखा राज्यको सिमानालाई रक्षा गर्न भन्दै राजाले तत्कालिन समयमा सिरानचोककोट प्रयोग गरेका थिए । इतिहासले लिगलिगकोट, सिरानचोककोट र गोरखा दरबार जोडेकाले एउटा ट्रेलको रुपमा बिकास गर्न म्याराथुन निरन्तर गर्नुपर्नेमा स्थानीय तहका प्रमुखहरुले जोड दिए ।