× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सर्वोच्च अदालतद्वारा राष्ट्रपतिको नाममा कारण देखाऊ आदेश

    २ वर्ष पहिले

    असोज-९, सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेका रिटमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

    न्यायाधीश हरि फुयालको एकल इजलासले आइतवार रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । सर्वाेच्च अदालतले राष्ट्रपति कार्यालयबाट लिखित जवाफ आएपछि यी रिटहरू अग्राधिकारमा राखेर सुनुवाइ गर्न पनि आदेश दिएको छ । नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको मागसहित पाँच वटा रिट निवेदन दर्ता भएका थिए ।

    रिट निवेदनमा संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक प्रमाणीकरण नहुनु संविधान विपरीत रहेको भन्दै राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाइएको थियो ।

    रिट निवेदनमा अधिवक्ता सागर बरालसहित, शौनु परियारले परमादेशको र अधिवक्ता डा.सुनिल रञ्जन सिंहसमेत, अधिवक्ता सुनिकुमार यादव र देव शर्माले भने राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गराउन उत्प्रेषण परमादेश माग गरेका थिए ।

    संसदले दोस्रो पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । नागरिकता विधेयक पहिलो पटक राष्ट्रपति भण्डारीले फिर्ता गरेकी थिइन् ।

    संघीय सदन अन्तर्गतका दुबै सदनले फेरि सोही विधेयक पारित गरेर राष्ट्रपति कार्यालय पठाएका थिए । संसदले पठाएको १५ दिनसम्म पनि राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण गरिनन् । राष्ट्रपतिले संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा मुद्दा परेका हुन् ।