× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    दुर्घटना न्यूनीकरणको लागि चितवनमा टाइम कार्ड लागू

    २ वर्ष पहिले

    असोज-१५, चाडपर्वमा राजमार्गमा गाडीको चाप बढ्ने र तीव्र गतिमा गाडी चलाउँदा दुर्घटनाका जोखिम पनि बढ्ने भएकाले चितवनमा टाइम कार्ड लागू गरिएको छ।

    बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले चाडपर्व लक्षित दुर्घटना न्यूनिकरणको लागि राजमार्गमा चल्ने यात्रुवाहक बस, माइक्रो, मिनीबस र टिप्परमा टाइम कार्ड लागू गरेसंगै प्रदेश प्रहरी कार्यालयको निर्देशनमा चितवनमा पनि टाइम कार्ड लागू गरिएको हो ।

    टाइम कार्ड लागू भएपछि प्रतिघन्टा ४० किमीभन्दा बढीको गतिमा सवारीसाधन चलाउन नपाइने चितवन ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए । टाइम कार्ड वितरण तथा चेकिङका लागि जिल्लाका पाँच ठाउँमा ट्राफिक चेक पोस्ट राखिएको छ । लोथर, गोन्द्राङ, आँपटारी, मुग्लिन र फिस्लिङमा चेक पोस्ट राखिएको छ ।

    टाइम कार्डमा उल्लेख गरिएभन्दा छिटो सवारीसाधन चलाउनेलाई ५०० देखि १५ सय रूपैयाँसम्म जरिवाना हुने उनले बताए । उनका अनुसार फिस्लिङ–मुग्लिन (१६ किमी) २५ मिनेटमा, मुग्लिन–आँपटारी (३४ किमी) एक घन्टामा र मुग्लिन–गोन्द्राङ (४१ किमी) एक घन्टा पाँच मिनेटभन्दा छिटो पुग्न हुँदैन ।

    त्यस्तै, गोन्द्राङदेखि लोथर (३० किमी) ५० मिनेटभन्दा कम समयमा पुगेमा जरिवाना लाग्ने उनले बताए । ‘ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न भन्ने भनाइलाई ख्याल गर्दै टाइम कार्ड लागू गरिएको हो’, उनले भने, ‘तीव्र गतिका कारण हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू गरिएको हो । जनताकै सुरक्षाका लागि गरिएको हो ।’

    दसैँको मुखमा जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति पनि थप गरिएको छ । जिल्लामा २० जना ट्राफिक प्रहरी थपिएका छन् । अब जिल्लामा ट्राफिक प्रहरीको संख्या ८० पुगेको छ । यद्यपि, चितवनका लागि अझै कम्तीमा २० ट्राफिक प्रहरी आवश्यक रहेको बताइएको छ । चितवनमा राजमार्गहरुको कुल लम्बाइ ९३ किमी रहेको छ ।