× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन २ मा राज्यमन्त्री उमेश श्रेष्ठलाई टिकट

    २ वर्ष पहिले

    असोज-२२, आइतबार हुने मनोनयनका लागि नेपाली कांग्रेसले चितवन २ मा राज्यमन्त्री उमेश श्रेष्ठलाई टिकट दिएका छन्।

    पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासपात्रको रुपमा चिनिएका मन्त्री श्रेष्ठ पछिल्लो समय चितवनमा नै बढि केन्द्रित थिए।

    दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनिसकेका श्रेष्ठ यसपटक चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनेका हुन्।

    को हुन् उमेश श्रेष्ठ ?

    राज्यमन्त्री श्रेष्ठ मूलतः शिक्षा क्षेत्रका व्यवसायी हुन् । श्रेष्ठ २०१२ सालमा भोजपुरमा जन्मिएका व्यक्ति हुन् । ४२ वर्षअघि भोजपुरबाट काठमाडौं आएका उनी हाल शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा संलग्न छन् । हाल झम्सीखेल ललितपुरमा उनको बसोवास छ ।

    संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य रहि सकेका उनी ललिपुरको हात्तीवनमा रहेको लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनी उच्च माध्यमिक विद्यालय एसोसिएसन हिसान र प्याब्सनका पूर्व अध्यक्षसमेत हुन् भने हाल सल्लाहकार छन् । उनी कांग्रेसमा दोस्रो पटक समानुपातिक कोटाबाट सांसद बनेका व्यक्ति हुन् । यसअघि उनी संविधानसभा सदस्य थिए ।

    श्रेष्ठको नेपालको शैक्षिक क्षेत्रमा मात्रै नभएर अन्य व्यवसायमा पनि लगानी छ । उनले व्यावसायिक शुरुवातमा भने लिटिल एन्जल स्कूल खोलेर शैक्षिक व्यवसायीका रुपमा परिचय बनाएका थिए ।

    उनी प्राइम कमर्सिंयल बैंकका पूर्व अध्यक्षसँगै मुख्य लगानीकर्ता पनि हुन् । उनको पछिल्लो समय जलविद्युत् आयोजनामा पनि लगानी छ । उनी पाँचथर पावर कम्पनी प्रालिका अध्यक्ष हुन् । यस्तै सानीगाड हाइड्रो पावर बझाङ, कालङगा हाइड्रो वझाङ, बुङ्गल हाइड्रो बझाङ, भिजन इनर्जी रामेछाप र माउन्टेन इनर्जी म्याग्दीका पनि उनको लगानी छ ।

    यसैगरी चितवनमा होटल सिराइचुली, होटल सेन्ट्रल पार्क, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्टमा पनि उनको लगानी छ । पोखरामा उनको नयाँ होटल परियोजना सुरु भएको छ । कृषि फार्म, निजी वन विकास लगायत धेरै क्षेत्रमा उनको लगानी छ । यस्तै हाउजीङ तथा रियल स्टेटमा पनि उनको लगानी छ ।

    श्रेष्ठले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पनि हात हालेका छन् । नेपालमा निजी अस्पतालमा लगानी गर्न सुरु गरेका श्रेष्ठले करिब ५० करोड रुपैयाँभन्दा बढी लगानीमा पाँचवटा निजी अस्पताल बनाउने तयारी गरेका छन् ।

    उनी महेन्द्रनारायण निधि मेमोरियल सामूदायिक अस्पताल काठमाडौंको ट्रस्टीजको अध्यक्ष हुन् ।

    यस्तै काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पतालकासमेत उनी अध्यक्ष हुन् ।