× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    विश्व भोकमरी सूचकांकमा नेपाल ८१औं स्थानमा, दक्षिण एशियामा दोस्रो

    २ वर्ष पहिले

    असोज -२९, विश्व भोकमरी सूचकांक ‍(ग्लोबल हंगर इन्डेक्स) मा नेपाल ८१औं स्थानमा पुगेको छ।

    १२१ देशमध्ये विश्वब्यापी भोकमरीको स्थिति जनाउने सूचकांकमा सन् २०२२ मा नेपाल पाँच स्थान तल खस्किएको हो। सन् २०२१ मा नेपाल ११६ देशमध्ये ७६औं स्थानमा थियो।

    आयरल्यान्डको विश्वव्यापी सरोकार र जर्मनीको वेल्टहंगर हिल्फे संस्थाद्वारा सार्वजनिक गरिएको यस वर्षको तथ्यांकमा नेपालले १९.१ अंक पाएको छ। यो मध्यम खालको भोकमरीको स्थिति हो। गत वर्ष पनि नेपालको भोकमरीको सूचकांक समान थियो।

    भोकमरी सूचकांक ० देखि १०० को बीचमा हुन्छ। यो अंक जति कम भयो उति भोकमरी कम रहेको जनाउँछ। अंक बढ्दै जाँदा भोकमरीको स्थिति गम्भीर रहेको बुझिन्छ। अर्थात्, जसको अंक धेरै हुन्छ, त्यो देशमा भोकमरीको अवस्था खराब रहेको मानिन्छ।

    बालबालिकाको पोषणसम्बन्धी तथ्यांकमा आधारित भएर देशको स्तर निर्धारण हुन्छ। अल्पपोषित वा न्यूनपोषित दर, कुपोषण, बालबालिकाको उमेरअनुसार तथा उचाइअनुसार तौल नहुने र बालमृत्युदरमा आधारित तथ्यांकका आधारमा यस्तो सूची तयार हुन्छ।

    प्रतिवेदनमा उल्लेख १२१ देशमध्ये सबैभन्दा गम्भीर भोकमरीको स्थिति यमनमा छ। १२१ स्थानमा रहेको यमनको भोकमरी सूचकांक ४५.१ छ। सबैभन्दा न्यून भोकमरीको अवस्था बेलारुसमा छ। पहिलो स्थानमा रहेको बेलारुसको भोकमरी सूचकांक ५ भन्दा थोरै छ। चीन, चिलि, हंगेरी, कुवेत, टर्की लगायतको देशमा भोकमरीको स्थिति न्यून मात्रै छ।

    दक्षिणएशियामा भोकमरी सूचकांकमा तुलनात्मक राम्रो स्थितिमा श्रीलंका छ। ६४औं स्थानमा रहेको श्रीलंकाको भोकमरी सूचकांक १३.६ छ। श्रीलंकापछि नेपालको स्थान राम्रो छ।

    छिमेकी भारतको स्थान १०७औं नम्बरमा छ। भारतको भोकमरी सूचकांक २९.१ छ। ८४औं स्थानमा रहेको बाङ्लादेशको भोकमरी सूचकांक १९.६ छ। त्यसैगरी, २६.१ सूचकांक रहेको पाकिस्तान ९९औं नम्बरमा छ। अफगानिस्तान १०९औं स्थानमा छ।

    सन् २००० देखि नियमित प्रकाशन गरिँदै आएको यो प्रतिवेदनमा नेपालले बितेका वर्षमा भोकमरीको स्थितिमा ठूलो सुधार गरेको देखिएको छ।