× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ सौराहा’ अभियान

    २ वर्ष पहिले

    असोज -३०,चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवर्द्धन अभियानमा थालेका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने तयारी थालेका हुन्

    यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउनपछि यही अभियानका साथ पूर्वका दुई प्रदेशमा व्यवसायी पुगेका थिए । अभियानपछि सौराहामा पर्यटकको संख्या केही बढेको थियो । यस वर्ष पनि चाडपर्व सकिएपछि पुनः घुमौं सौराहा भन्दै देशका सात ओटै प्रदेशमा पुग्ने तयारीमा सौराहाका व्यवसायी जुटेका हुन् ।

    क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहामा आन्तरिक पर्यटक बढाउन देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको बताए । उनले यस वर्ष देशका सातै प्रदेश पुग्ने योजना रहे पनि पहिलो चरणमा पाँच प्रदेशमा अभियान सञ्चालन गरिने जानकारी दिए । ‘कोरोनाका कारण भएको लकडाउनपछि प्रदेश १ र मधेश प्रदेशमा अभियान सञ्चालन गरेका थियौं, त्यो प्रभावकारी बन्यो’, उनले भने ।

    यसपटक देशका सबै प्रदेशमा पुगेर त्यहाँका व्यवसायी, संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, नागरिक समाज र पत्रकारसँग छलफल गर्दै सौराहा घुम्न आउनका लागि निमन्त्रणा दिइने उनले बताए । भट्टराईका अनुसार अभियानका क्रममा यहाँका पर्यटकीय गतिविधिका दृश्य देखाइनेछ । ‘प्रदेश सरकारले घोषणा गरेको वाग्मती प्रदेश भ्रमण वर्ष अभियानलाई पनि टेवा पुग्ने गरी ‘घुमौं सौराहा’ का कार्यक्रम सञ्चालन हुनेछन्’, उनले भने ।

    वाग्मती प्रदेश सरकारले सौराहामा नै कार्यक्रमको आयोजना गरेर वाग्मती प्रदेश भ्रमण वर्ष शुभारम्भ गरिसकेको छ । ‘घुमौं सौराहा’ अभियानमा छुट प्याकेजको समेत घोषणा गरिने भट्टराईले बताए ।

    यो समयमा सौराहाका होटलमा खचाखच पर्यटक हुन्थे । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याई हुन्थ्यो । यतिबेला सौराहामा चाडपर्वका कारण केही चहलपहल बढे पनि सन्तोषजनक नरहेको उनले बताए । ‘अहिले २० देखि ३० प्रतिशत पर्यटक मात्र सौराहा आएका छन्, केही विदेशी पर्यटक पनि छन्’, उनले भने । मनसुन सकिएको र जाडोयाम शुरू भएसँगै पर्यटकको संख्या बढ्ने अपेक्षा सौराहाका व्यवसायीले गरेका छन् ।

    रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल सौराहा (रेवान) का अध्यक्ष नरेश गिरीले सौराहामा पर्यटकको चहलपहल केही बढेको र ‘घुमौं सौराहा’ अभियानले यहाँ आन्तरिक पर्यटक थप बढ्ने अपेक्षा गरे । ‘यही रफ्तारमा बढ्दै गयो भने यहाँ पर्यटकको आवागमन राम्रै हुन्छ’, उनले भने, ‘चुनावका कारण केही समय पर्यटक आगमन केही कम भए पनि चुनाव पछि बढ्नेछ ।’ उनले पछिल्लो समय देशव्यापी रूपमा भएको आर्थिक मन्दीका कारण पनि पर्यटन क्षेत्र चलायमान हुन नसकेको बताए ।

    रेवानले सौराहा आउने आन्तरिक पर्यटकलाई लक्षित गरेर नियमित १० प्रतिशत छुट दिइरहेको गिरीले बताए । सौराहाको पार्क सफारी रिसोर्टका निर्देशक योगेश अधिकारीले दशैंसम्म पानी परेका कारण यस वर्ष सिजनमा पनि पर्यटक सौराहा आउन नसकेको बताए । उनले चिनियाँ पर्यटक नेपाल नआएसम्म नेपालको पर्यटकीय क्षेत्र पुरानो लयमा फर्कन नसक्ने बताए । चितवनसँग अन्य जिल्ला जोडिने सडक सञ्जाल राम्रो नहुँदा पनि यहाँको पर्यटन थप चलायमान बन्न नसकेको उनको भनाइ छ ।

    नारायणगढ-बुटवल सडकखण्ड विस्तारका क्रममा छ भने नारायणगढ–मुग्लिन सडकखण्डमा पनि यो वर्ष मात्रै दुई दर्जन बढी पटक पहिरो खसेर सडक अवरुद्ध भएको छ । वन, वनस्पति र वन्यजन्तु अवलोकनका लागि चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आउने गर्छन् । दुलर्भ एकसिंगे गैंडा, बाघ र घडियाल गोही यहाँका मुख्य आकर्षण हुन् । यहाँ हात्ती सफारी, डुंगा शयर, जीप सफारी, पैदलयात्रामार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गराइँदै आएको छ । सौराहामा ठूला–साना १४० होटल छन् भने करीब एक सय रेष्टुराँ सञ्चालनमा छन् ।