× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    छठ पर्वको मुख्य दिन आज,साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदै

    २ वर्ष पहिले

    कार्तिक-१३, आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ।

    मधेस प्रदेश का सबै जिल्ला , काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा पनि छठ पर्वको विशेष रौनक हुने गर्दछ ।

    छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

    छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ ।

    ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

    सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ ।

    संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

    साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

    यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

    ०४६ अघि तराईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ ।