× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    मौलाकालिका मन्दिरमा आगामी फागुनभित्र केबलकार सञ्चालनमा आउने

    २ वर्ष पहिले

    मंसिर-२१, नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिकास्थित मौलाकालिका मन्दिरमा आगामी फागुनभित्र केबलकार सञ्चालनमा आउने भएको छ ।

    केबलकार निर्माणको काम अहिले अन्तिम चरणमा रहेकोले फागुनबाट सञ्चालनमा ल्याउने योजना निर्माण कम्पनीले बताएको हो ।केबलकार सञ्चालनका लागि वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा एक हजार ३८ रूख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ । आईएमई समूहले केबलकार सञ्चालनमा ल्याउन लागेको हो । ‘फागुनभित्र परीक्षण गरी सञ्चालनमा ल्याउने तयारीमा छौं,’ परियोजना प्रबन्धक गोकुल साउदले भने ।

    आईएमई समूहले काठमाडौंको चन्द्रागिरिमा पनि केबलकार स्थापना गरेको छ । करिब डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण हुने लक्ष्य राखिएको केबलकार आयोजनामा ५१ प्रतिशत मुख्य लगानीकर्ता आईएमई समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहने बताइएको छ । स्थानीयले कम्तीमा ५० हजारदेखि बढीमा ५ लाख रुपैयाँसम्म लगानी गरेको साउदले बताए । केबलकारले करिब ४०० जनालाई रोजगारी दिने कम्पनीको भनाइ छ । मन्दिर नजिकमा ५० कोठाको होटल, लज पनि निर्माणाधीन छ ।

    केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । पूर्वी नवलपरासीकै दुर्गम पहाडी क्षेत्र मिथुकरमको जग्गा किनेर सरकारलाई दिएको हो । केबलकारले अधिग्रहण गरेको जग्गा नेपालकै कुनै स्थानमा सट्टा भर्ना दिनुपर्ने नियम छ ।

    चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेकै अस्ट्रेलियन कम्पनीले यहाँ पनि काम गरिरहेको छ । गैंडाकोट–१ धारापानीमा चढ्ने र मन्दिर नजिक ओर्लने स्टेसन छन् । त्यहाँ हेलिप्याड निर्माण गरिएको छ । केबलकारको लम्बाइ एक हजार २०० मिटर छ । ६ वटा टावर रहने केबलकारमा १४ वटा डब्बा रहनेछन् । जसमा एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा हुनेछन् । एउटा डब्बामा एक पटकमा ८ जना दर्शनार्थी बोकेर हरेक डब्बा ५ मिनेटमा मन्दिर पुग्ने कम्पनीले जनाएको छ । प्रतिदिन ६ हजार यात्रु आवतजावत गराउन सकिने पनि कम्पनीको विश्वास छ ।