× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नागढुंगा- नौबिसे सुरुङको काम ७० प्रतिशत सकियो, २०८१ असार मसान्त भित्र काम सम्पन्न हुने

    २ वर्ष पहिले

    मंसिर-२५, नागढुंगा- नौबिसे सुरुङमार्गको सुरुङ खन्ने काम ७० प्रतिशत सकिएको छ। २०८१ सालको साउनमा गाडी चलाउने लक्ष्यसहित सुरुङ खन्ने काम धमाधम भइरहेको छ।

    २०८१ असार मसान्तसम्ममा सुरुङमार्गको काम सकेर साउन पहिलो साताबाट सवारीसाधनका लागि खुला गरिने योजना रहेको नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका निर्देशक रामहरि पोखरेले बताए। उनका अनुसार सो लक्ष्य पूरा गर्न अहिले दुई सिफ्टमा फुल फ्लेजमा काम भइरहेको छ। यसका लागि अन्य स्थानीय तथा कुनै क्षेत्रबाट बाधा नरहेको उनको भनाइ छ।

    दैनिक १० देखि १२ मिटरसम्म सुरुङमार्ग खन्ने काम भइरहेको छ। यसैगरी सुरुङमार्गसँगै फिनिसिङ गर्ने काम पनि धेरै सम्पन्न भएको उनी बताउँछन्। आयोजनामा अहिले दुवैतिरको पोर्टलमा गरी दैनिक ५४० जनाले काम गरिरहेका छन्।

    ‘फिनिसिङ गर्नुभन्दा ६ महिनाअगाडि मुख्य सुरुङको ब्रेक थ्रु हुन्छ तर सकेसम्म लक्ष्यभन्दा चार महिना अघि नै सुरुङमार्गमा गाडी कुदाउन मिल्ने गरि काम भइरहेको छ,’ उनले भने।

    उनका अनुसार सुरुङमार्गबाहिर पहुँचमार्ग निर्माणको काम भइरहेको छ। काठमाडौंतिर ओभरपास निर्माण सकिएको छ। यस्तै, बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको छ। मुआब्जा वितरणको काम धमाधम भइरहेको छ।

    फ्लाईओभरको लागि मात्र ८५ प्रतिशत मुआब्जा प्रतिशत बाँडिसकेको छ। बाँकी १५ प्रतिशत मुआब्जा रकम यही आर्थिक वर्षभित्र बाँड्ने योजना रहेको उनले बताए।

    करिव १२ रोपनी जग्गा र पक्की तथा टहरा गरी ५७ वटा संरचना अधिग्रहण गर्नुपर्नेछ। फ्लाई ओभर सेन्ट्रल दुई लेनबाट उठाएर निर्माण हुनेछ। चार लेनको दुई लेन फ्लाई ओभरका लागि प्रयोग हुने भएपछि आयोजनाले जग्गा अधिग्रहण गरेर दुई लेन सडक बनाइदिन लागेको हो। सोही कारण धेरै जग्गा अधिग्रहण गर्नुपरेको हो।

    मुआब्जाका लागि मात्रै १ अर्ब १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सुरुङमार्गको पोर्टलतिर जाँदा राजमार्गमा जाम हुन सक्ने भन्दै फ्लाई ओभर निर्माण गर्न लागिएको हो। दुई लेनको फ्लाईओभर १२८ मिटरको लामो हुनेछ।

    एउटा लेन ३.५ मिटरको हुनेछ। १२८ मिटर फ्लाई ओभरबाट करिव तीन किमी पहुच (एक्सेस) सडक मार्फत काठमाडौंतिरको पोर्टलमा पुग्न सकिन्छ। बलम्बुमा निर्माण हुने फ्लाइओभर आयोजनाको मुख्य निर्माण कम्पनी हाज्मा/आन्दो कर्पोरेशन लिमिटेडले नै निर्माण गर्नेछ।

    मुख्य सुरुङ खन्ने काम ७०.२० प्रतिशत सकियो

    मुख्य सुरुङ खन्ने काम ७०.२० प्रतिशत पूरा भएको छ। मुख्य सुरुङ र सहायक सुरुङ (इभाकुएसन) गरी ३८५९ मिटर सुरुङ खन्ने काम पूरा भएको छ।

    काठमाडौंतर्फ मुख्य सुरुङ ८३२ मिटर र सहायक सुरुङ १०४५ मिटर पूरा भएको आयोजनाले जनाएको छ।यस्तै, धादिङतर्फ ८७८ मिटर मुख्य र ९०२ मिटर इभाकुएसन टनेल खन्ने काम सकिएको छ। धादिङतर्फ १२६ मिटर अडिट टनेल पूरा भएको छ भने ७४ मिटर क्रस प्यासेज पनि निर्माण भएको छ।

    इभाकुएसनको कुल लम्बाई २५५७ मिटर र मुख्य सुरुङ २६८८ मिटर रहेको छ।

    इभाकुएसन टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुने गरी बनाइने सुरुङ हो। यसरी समानान्तर हुनेगरी खनिने इभाकुएसन टनेललाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज) ले मुख्य सुरुङसँग जोड्छ।

    आयोजनाका अनुसार अहिले सुरुङमार्गभित्रको कामलाई मुख्य प्राथमिकता दिएर धमाधम अघि बढाइएको छ। हाल मुख्य सुरुङको काम फिनिसिङ अथवा कंक्रिट लाइनिङ गर्ने कार्य भइरहेको छ। जसमा हालसम्म ९४६.६० मिटर मुख्य सुरुङको कंक्रिट गर्ने काम सकिएको छ।

    यो कुल सुरुङको ३३.७० प्रतिशत हो। यसमा गाडी चलाउन सक्ने गरी फिनिसङ गरिएको सुरुङमार्ग हो। यसमा अहिले गाडी पनि गाडी चलाउन सकिन्छ।

    यस्तै, मुख्य सुरुङका साथै तीनवटा अण्डरपास, चारवटा बक्स कल्भर्ट, ओभरपास, तीनवटा ब्रिज लगायतको बाहिरका संरचनाको हालसम्म काम ३९५ काम सम्पन्न भएको छ।

    हालसम्म आयोजनाको कुल भौतिक प्रगति ४६.२६ प्रतिशत सम्पन्न भएको छ। यस्तै आर्थिक रुपमा भने लगभग साढे १० अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ। यो भनेको आयोजनाको कुल लागतको ४८.८३ प्रतिशत हुन आउछ।