× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनको खैरहनीमा खिचरा महोत्सव शुरु, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने द्वारा उद्घाटन

    २ वर्ष पहिले

    पुस-२९, थारु समुदायको नयाँ वर्षको अवसरमा आयोजित खिचरा महोत्सव बिहीबारदेखि पूर्वी चितवनको खैरहनीमा सुरू भएको छ । थारु संस्कृति, भेषभूषा, खानाका परिकार संरक्षणका लागि थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर–७ को आयोजनामा भएको महोत्सवको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गरे ।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले थारु समुदायको कला–संस्कृतिका कारण नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुगेको बताए । ‘विविधताभित्रको एकता खोज्दा थारु समुदाय अग्रपंक्तिमा आउँछ’, गृहमन्त्री लामिछानेले भने, ‘यही समुदाय नेपालको सान हो, जसले गर्दा अन्तर्राष्ट्रिस्तरमा नेपाललाई चिनाएको छ ।’ संस्कृति जगेर्ना गर्न चुनौती रहेको भन्दै उनले यो समुदायले आफ्नो संस्कृति, पहिचान धानेको बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जेएन थपलियाले थारु समुदायको कला, संस्कृति, परम्परा संरक्षणमा खिचरा महोत्सवले टेवा पु¥याउने विश्वास व्यक्त गरे । विगतमा पनि बागमती प्रदेश सरकारबाट बजेट पारेर थारु सङ्ग्रहालय निर्माणमा सहयोग गरेको भन्दै आगामी दिनमा पनि आवश्यकताका आधारमा सहयोग गर्ने मन्त्री थपलियाले प्रतिबद्धता जनाए ।

    थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर–७ का सभापति चूडामणि चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, चितवन उद्योग वाणिज्य–संघका अध्यक्ष चुननारायण श्रेष्ठ, नेपाली कांग्रेस खैरहनी नगर सभापति गुणराज श्रेष्ठ, नेकपा एमाले नगर कमिटी अध्यक्ष पूर्ण डल्लाकोटी, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष रामेश्वर पोखरेल, राप्रपा नगर अध्यक्ष देवराज कँडेललगायतले मन्तव्य राखेका थिए ।

    खैरहनी नगरपालिका–५, जबकौलीस्थित गौचरनमा माघ ४ गतेसम्म चल्ने महोत्सवमा १५० भन्दा बढी विभिन्न प्रकारका स्टलहरु छन् । महोत्सवमा दैनिक सांस्कृतिक कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक कार्यक्रमहरु रहनेछन् ।

    यस्तै, यसपटक तराईका २२ जिल्लाका थारु समुदायका थारु परिकारहरु महोत्सवमा खान पाइनेछ । महोत्सवमा पहिलोपटक जिल्लास्तरीय भलिबल प्रतियोगिता, दैनिक विशेषज्ञ चिकित्सकहरुद्वारा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुनेछन् भने कृषि उपजहरु प्रदर्शनीमा राखिएको महोत्सवका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए । महोत्सव समुद्घाटनअघि मंगनीचोकदेखि महोत्सव स्थलसम्म झाँकीसहितको शोभायात्रा निकालिएको थियो ।