२ वर्ष पहिले
माघ-५, नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बीपी राजमार्गमा फोहोर फाल्ने सवारीसाधन र यात्रुलाई कारबाही गर्ने भएको छ । साताव्यापी रूपमा राजमार्ग सरसफाइ गर्दै आएको पालिकाले प्रहरीसँगको सहकार्यमा कारबाही अगाडि बढाउने नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए ।
पालिकाले बुधबार सवारीसाधनका चालक र यात्रुलाई फोहोर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकरसमेत टाँसेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच सार्वजनिक सवारीकासाधनबाट उत्पन्न हुने फोहोरमैला नियन्त्रण तथा व्यवस्थापन गर्ने विषयमा समझदारी भए पनि पालना हुन सकेको छैन ।
अब पनि अटेर गरेमा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम सवारी चालक वा यात्रुलाई कारबाही हुने पालिकाले जनाएको छ ।