× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि खुला

    २ वर्ष पहिले

    फागुन -११, गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि प्रविधिमा आधारित उडान–अवतरण (इन्स्ट्रुमेन्टल फ्लाइट रुल, आईएफआर) उडान सुरु हुने भएको छ ।

    क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण भए पनि हालसम्म यो विमानस्थलमा आँखाले हेरेको आधारमा गरिने उडान (भिजबल फ्लाइट रुल, भीएफआर) हुँदै आएको छ । आईएफआर प्रणाली सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानको पनि बाटो खुलेको छ ।

    आईएफआर प्रणाली सञ्चालन हुँदा अब पोखरामा उडान अवतरणका लागि चाहिने भिजिबिलिटी (दृश्य क्षमता) तीन हजार छ सयदेखि चार हजार मिटर भए पुग्ने पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो ।

    यसअघि पोखरामा पाइलटले आँखाले आकाश र रनवे हेरेर गरिने भीएफआर उडानका लागि विमानस्थल वरपरको भिजिबिलिटी न्यूनतम पाँच किलोमिटर हुनैपर्ने प्रावधान रहेको थियो ।

    उहाँले भन्नुभयो, “आईएफआर प्रणालीमा आधारित रहेर पोखरामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको बाटो खुला भएको छ । अब पोखरामा नियमित उडानका लागि चाहिने ग्राउन्ड, जहाज र पाइलटलगायतका अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएका छन् ।”

    आईएफआरको सुविधाले अब पोखरा विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने र रात्रिकालीन उडानसमेत हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि भीएफआर प्रणालीमा आधारित रहेर पोखरामा उडान गर्दा सूर्यास्तको समय हेरेर ४ देखि ५ बजेपछि उडान बन्द हुने गरेको थियो । अब आधुनिक प्रविधिको सहायताबाट उडान सुचारु हुन लागेको छ ।”

    विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि यसअघि बाधक मानिँदै आएको रिट्ठेपानी डाँडा कटानको काम जारी रहे पनि आईएफआर उडानका लागि आवश्यक डाँडा कटानको काम सकिएको उहाँको भनाइ छ ।

    बढ्यो अन्तर्राष्ट्रिय कम्पनीको चासो

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आईएफआर प्रणाली सञ्चालनको तयारीसँगै अन्तर्राष्ट्रिय हवाई कम्पनी पनि पोखरामा सिधा उडानका लागि चासो देखाउन थालेका छन् ।

    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले चैत १२ देखि सुरु हुने गर्मीयामको उडान तालिकाअनुसार नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स पोखराबाट उडान भर्न तयार देखिएका छन् ।

    उहाँले भन्नुभयो, “विदेशी हवाई कम्पनीको दाँजोमा आधिकारिक अनुमतिको प्रक्रिया सुरु नभए पनि कुवेतबाट जजिरा एयरलाइन्स, अबुधाबीबाट बिज एयर र कोरियाबाट कोरियन एयरलाइन्सले चासो देखाएका छन् ।”

    पोखराबाट चार/पाँच घण्टाको दूरीमा हुने उडानका लागि निगमले भारत, बङ्गलादेश, बैङ्ककलगायतका गन्तव्य र हिमालयले चीनका गन्तव्यमा एयरबस ३२० बाट उडान गर्न सक्ने उहाँले बताउनुभयो ।

    विमानस्थलको पूर्वतर्फको ‘रनवे ३–०’ बाट आईएफआर उडान–अवतरण गर्न सकिनेछ । पश्चिमतर्फको ‘रनवे १–२’ बाट भने भीएफआर उडान मात्र हुनेछ । यती एयरलाइन्सको एटीआर–७२ जहाज अवतरणका क्रममा माघ १ गते दुर्घटनामा परेपछि दुर्घटना जाँच आयोगले ‘रनवे १­–२’ को विस्तृत अध्ययन गरेर मात्र अवतरणको अनुमति दिन सिफारिस गरेको छ । क्यानले दुर्घटनालगत्तै ‘रनवे १–२’ बाट तत्कालका लागि जहाज अवतरणमा रोक लगाएको छ ।

    अन्तर्राष्ट्रिय उडानको बाटो खुलेसँगै कोरोना भाइरस महामारीका कारण थलिएको पोखराको पर्यटन क्षेत्रमा राहत हुने पर्यटन व्यवसायीको अपेक्षा छ । गोरखापत्र बाट