× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    यसवर्षको एसईई परीक्षा आजदेखि सुरु

    १ वर्ष पहिले

    चैत्र -१७, यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान आठ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेकोे राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    त्यसअघिका दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकन विधिबाट परीक्षा सञ्चालन गरिएको थियो । योवर्ष विद्यार्थीहरुको भौतिक उपस्थितिमा दुई हजार ३७ केन्द्रबाट परीक्षा लिइने बोर्डले जनाएको छ ।

    आवेदन दिएकाभन्दा ३१ हजार कम परीक्षार्थी

    योवर्ष एसईईका लागि आवेदन फारम भरेकाभन्दा ३१ हजार कम विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । कूल पाँच लाख १६ हजार ५७७ जनाले फारम भरेकोमा चार लाख ८५ हजार ३९६ विद्यार्थी मात्रै परीक्षामा सहभागी हुँदै छन् ।

    यो ग्याप गत वर्षहरुको तुलनामा बढी भएको परीक्षा बोर्डका डेपुटी कन्ट्रोलर भक्त गोदार बताउँछन् । वर्ष २०७८ को एसईईका लागि आवेदन दिएका पाँच लाख १४ हजार ९७७ ले विद्यार्थीमध्ये चार लाख ८५ हजार ७५१ जना परीक्षामा सहभागी भएका थिए ।

    १४ परीक्षार्थी जापानबाट पनि

    यसवर्षको एसईईमा सहभागी हुने छात्रछात्राको संख्यामा थोरै मात्रै फरक छ । दुई लाख ४२ हजार ६७४ छात्र र दुई लाख ४२ हजार ७१२ छात्राले परीक्षा दिँदै छन् ।

    यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको गोदारले बताए । सहभागीमध्ये सबैभन्दा धेरै एक लाख ३७ हजार परीक्षार्थी छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ३८ हजार ६३८ परीक्षार्थी रहेको बोर्डले जनाएको छ ।

    घरपायक केन्द्र, विज्ञानको परीक्षाअघि बिदा

    यसवर्षको एसईईमा चैत २१ गते हुने विज्ञानको परीक्षाका लागि चैत २० गते बिदा दिइएको छ । गत वर्षहरुमा विज्ञानको नतिजा कमजोर भएपछि नतिजा सुधारका लागि बिदाको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

    वर्ष २०७८ को एसईईमा सबैभन्दा धेरै एक लाख ६ हजार ५१३ जना विद्यार्थीले सी ग्रेड ल्याएपछि यस्तो विकल्प अपनाइएको हो । त्यसैगरी यसवर्षको एसईईमा प्राविधिक विषयका विद्यार्थीका लागि घरपायक केन्द्रको व्यवस्था गरिएको छ ।

    यसअघि, त्यस्ता विद्यार्थीका लागि जिल्ला सदरमुकाममा एउटै मात्र केन्द्र राखिने गरेकोमा यसवर्षदेखि घरपायक विद्यालयहरुलाई केन्द्र तोकिएको बोर्डले जनाएको छ ।

    सहयोग र समन्वयका लागि आग्रह

    राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सुरु हुन लागेको एसईई व्यवस्थित र मर्यादित बनाउन सहयोग र समन्वयका लागि प्रदेश र स्थानीय अपिल गरेको छ । बोर्डले सबै प्रदेश, जिल्ला, बोर्डका शाखा कार्यालयहरु तथा गाउँपालिका महासंघ र नगरपालिका संघलाई पत्राचार गर्दै आवश्यक सहयोग र समन्वय मागेको छ ।