२ वर्ष पहिले
बैशाख-१, नारायणगढ–मुग्लिन सडकखण्डको बीचमा पर्ने तुइन खोलामा पुल बनाउन अवरोधक बनेको पहरो फोर्न आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रियाको फाइल काठमाडौंस्थित भारतीय दूतावासमा पुगेको देखिएको छ ।
बारुद किन्न ‘नो अब्जेक्सन लेटर’ का लागि फाइल भारतीय दूतावासमा रहेको नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । आयोजनाले बारुद किन्न गरेको मागअनुसार रक्षा र गृह मन्त्रालयको स्वीकृतिसहित परराष्ट्र मन्त्रालय हुँदै अहिले भारतीय दूतावासमा पुगेको कार्कीले बताउनुभयो । दुई दिनअघिसम्म उक्त फाइल कहाँ छ भन्ने यकिन थिएन ।
“विभिन्न समाचार माध्यममा पहरो फुटाउने फाइल नै हराएको समाचार आएपछि हामीले फाइल खोज्ने क्रममा अहिले खरिद प्रक्रियाकै क्रममा भारतीय दूतावासमा रहेको पाइएको छ,” उहाँले भन्नुभयो । भारतबाट विस्फोटक पदार्थ खरिदका लागि आयोजनाका सहजकर्ता कृष्ण न्यौपानेले एक/दुई दिनभित्रै भारतीय दूतावासले ‘नो अब्जेक्सन लेटर’ दिने र त्यसकै आधारमा नेपाली सेनासँग सहकार्य गरेर भारतबाट बारुद आयात गर्ने बताउनुभयो ।
“हामीले वैशाखको अन्तिमसम्म विस्फोट गराउन सक्ने गरी बारुद आयातको प्रक्रिया सुरु गरिसकेका छौँ,” न्यौपानेले भन्नुभयो, “आयात गरिएको विस्फोटक पदार्थ सेनाको भरतपुर ब्यारेकमा भण्डारण गरेर पहरा फोर्न प्रयोग गर्नेछौँ ।” भारतको महाराष्ट्रमा रहेको एस बी एल इनर्जी लिमिटेडबाट १५ टन बारुद खरिदका लागि परियोजनाले प्रक्रिया अघि बढाएको हो । “आवश्यकता हेरेर पाँच/पाँच टन गर्दै बारुद आयात गर्ने हो,” उहाँले थप्नुभयो, “नेपाली सेनाकै समन्वयमा उनीहरूसँगै सम्झौता गरेर आयात गर्ने हो।
यसरी आयात गरिएको बारुद नेपाली सेनाले नै ढुवानी, भण्डारण र विस्फोट गराउँदासम्मको अनुगमन तथा निगरानी राख्ने गर्छ ।” नारायणगढ–मुग्लिन सडकको तुइन खोलामाथिको पुलसँगैको ११ मिटर अग्लो र ४० मिटर चौडाइको पहरो विस्फोट गर्न नसक्दा पुल निर्माणको काम लामो समयदेखि रोकिएको छ ।
विश्व बैङ्कको एक अर्ब २७ करोड पाँच लाख रुपियाँ आर्थिक सहयोगमा नारायणगढ–मुग्लिन सडक आयोजनामा १५ वटा पुल निर्माणको काम भइरहेको हो ।
२०७६ चैत १० गते ठेक्का सम्झौता भई बन्न सुरु भएका ती पुलमध्ये अहिलेसम्म ११ वटा निर्माण सम्पन्न भई हस्तान्तरणको तयारीमा छन् तर तुइनसहित चिसेन्जी, काली, सिमलताल र नाम्चे खोलामा निर्माणकै क्रममा छन् । गोरखापत्र बाट