× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिङ–मलेखु सडक खण्डको विस्तार र सुधारको काम सुरु

    १ वर्ष पहिले

    बैशाख-१६, देशकै प्रमुख राजमार्ग का रुपमा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–मलेखु खण्डमा पनि विस्तार र सुधारको काम सुरु भएको छ । मुग्लिङदेखि नागढुंगासम्म ९५ किमि सडक विस्तार र सुधार हुँदै छ ।

    मुग्लिङमा कार्यालय रहेको मुग्लिङ–नागढुंगा सडक आयोजनाको पश्चिम खण्डले मलेखु पश्चिम मुग्लिङसम्म ३९ किमिमा काम गर्दै छ । महिना दिनअघि उक्त खण्डको मलेखुदेखि पाँच किमि क्षेत्रमा काम सुरु भएको आयोजना कार्यालयले जनाएको छ ।

    दुई लेनको सडकलाई बजार क्षेत्रमा ६ देखि ७ लेनसम्म र उकालोमा ३ लेनको बनाउने गरी सुधार र विस्तारको काम सुरु भएको आयोजनाका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए । ३० वर्षअघि बनेको सडक भएका कारण बाँकी खण्डमा पनि सुधारको काम हुनेछ । निर्माणपछि सामान्य मर्मत मात्रै हुँदै आएको सडकलाई पूरै भत्काएर समयअनुकूलको भार थेग्ने बलियो बनाउने उनको भनाइ छ । पाँच प्रतिशतभन्दा बढी उकालो रहेको ठाउँमा तीन लेनको सडक बन्ने आयोजना प्रमुख किरण कार्कीले बताए ।

    ‘मालसामान ढुवानी गर्ने ठूला ट्रकलाई उकालोमा छुट्टै लेन दिन ३ लेनको सडक बनाउन लागेका हौं । विभिन्न ठाउँमा गरेर ६ किमि जति सडक ३ लेनको हुनेछ,’ कार्कीले भने । मूल्य अभिवृद्धि कर (भ्याट) सहित ४ अर्ब ४० करोड रुपैयाँ लागत रहेको विस्तारको काम तीन वर्षमा सक्ने लक्ष्य छ । गएको पुस १५ बाट काम सुरु भएको अवधि गणना हुनेछ । पुसबाटै गणना अवधि सुरु भए पनि महिना दिनअघि मलेखुदेखि किनारमा पर्खाल लगाउनेजस्ता काम सुरु भएका हुन् । पोल सार्ने र विस्तार क्षेत्रमा पर्ने रूख काट्न अझै बाँकी छ ।

    मुग्लिङदेखि नागढुंगासम्म २ हजार ५ सय ४६ वटा रूख काट्नुपर्नेछ । मुग्लिङ–मलेखुसम्म भने १ सय २५ वटा रूख काट्नुपर्ने कार्कीले जनाए । ‘रूख काट्ने निर्णयका लागि सडक विभागबाट वन विभागमा हाम्रो फाइल पुगेको छ । यसबारे छिट्टै निर्णय होला । बिजुलीको पोल सार्न प्रक्रिया अघि बढेको छ । महिना दिनभित्र पोल सार्ने काम सुरु हुन्छ,’ प्रमुख कार्कीले भने । राजधानी काठमाडौंलाई देशका बाँकी भागसँग जोड्ने मुख्य सडक भएका कारण सडक सुधार र विस्तारको काम समयमै पूरा गर्नु अपरिहार्य छ ।

    ‘सडक विस्तार हुनु पर्यटन क्षेत्रका लागि सुखद हो । तर काम समयमै सकिनुपर्‍यो । काठमाडौं जोड्ने मुख्य सडकमा ढिलासुस्ती हुने र काम अस्तव्यस्त भए यसले नराम्रो असर पुर्‍याउँछ,’ चितवनका पर्यटन व्यवसायी तथा क्षेत्रीय होटल संघ (हान) सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले भने । सडक बन्दै गर्दा पनि गाडीलाई सजिलो गरी चलाउन सकिने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए ।

    ‘वैकल्पिक मार्ग छन् । त्रिभुवन राजपथ, कान्ति राजपथजस्ता वैकल्पिक मार्गलाई चुस्तदुरुस्त राखेर मुख्य राजमार्ग विस्तार गरे धेरै राम्रो हुन्थ्यो । यसमा सडक विभागको ध्यान जाओस्,’ घिमिरेले भने । पुरानो सडकलाई पूरै भत्काएर नयाँ बनाउन लागेका कारण निर्माणको काम हुँदा सहज रूपमा यातायात सञ्चालन गर्न चुनौतीपूर्ण हुने देखिन्छ । झन् समयमै काम पूरा नभए थप मर्का पर्नेछ ।

    ‘निर्माण सकिएको ३० वर्ष भए पनि सामान्य मर्मतबाहेक अरू काम नभएको हुँदा सडक सुधार गर्न पुरानो खण्ड भत्काएर नयाँ बनाउन लागिएको हो । पुरानो सडक भएकाले दब्ने, भत्कने समस्या छ । अब त्यस्तो नहुने गरेर काम गर्छौं,’ आयोजना प्रमुख किरण कार्कीले भने । मुग्लिङ–नागढुंगा सडकको पश्चिम खण्ड मलेखुदेखि मुग्लिङसम्म ६ ठाउँमा नयाँ पुल बन्नेछन् । दुई वटा पुल भने मर्मतसुधार गरिनेछ ।

    बजार र सहज ठाउँमा ६ देखि सात लेनसम्मको सडक बनाउने, अप्ठ्यारो र भौगोलिक रूपमा कठिन ठाउँमा स्तरीय २ लेनकै सडक कायम गर्ने कार्कीले जनाए । ‘विस्तार र सुधारको काम भइरहेको ३९ किमिमध्ये ६ किमिमा ३ लेन हुनेछन् । पाँच किमि सडक ६ देखि ७ लेनको हुनेछ । बाँकी खण्ड २ लेनकै रहने उनले बताए । तर स्तरीय एवं अहिलेको भार र चाप थेग्ने खालको हुनेछ,’ कार्कीले भने । कान्तिपुरबाट