× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपालीको प्रतिव्यक्ति आय अब १ हजार ३९९ डलर

    १ वर्ष पहिले

    बैशाख-२०, नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९ अर्थात् एक लाख ८२ हजार छ सय ८३ रुपैयाँ बराबर पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर एक हजार तीन सय ९९ र प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन अमेरिकी डलर एक हजार चार सय १० बराबर देखिएको हो ।

    यसवर्ष नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८५ प्रतिशत र आधारभूत मूल्यमा दुई दशमलव १३ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । तथ्याङ्क कार्यालयका अनुसार चालु आवमा नेपालको जिडिपीको आकार आधारभूत मूल्यमा ४६ खर्ब ९६ अर्ब ४९ करोड रुपैयाँ र उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपैयाँ बराबर पुग्ने अनुमान गरिएको छ ।

    जिडिपी अनुपातमा नेपालको कूल स्थिर पुँजी निर्माण (ग्रस फिक्स्ड क्यापिटल फर्मेसन) २५ दशमलव २१ प्रतिशत अर्थात् १३ खर्ब ५६ अर्ब ४६ करोड रुपैयाँ बराबर पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै अन्तिम उपभोग खर्च (फाइनल कन्जम्सन एक्सेन्डिचर) जिडिपी अनुपातको ९३ दशमलव ५९ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । त्यो ५० खर्ब ३६ अर्ब १५ करोड रुपैयाँ बराबर हो ।

    जिडिपी अनुपातमा नेपालको वस्तु तथा सेवा निर्यातको हिस्सा सात दशमलव १५ प्रतिशत बराबर छ । यसवर्ष तीन खर्ब ८५ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरिने अनुमान गरिएको छ । जिडिपी अनुपातमा वस्तु तथा सेवाको आयात भने ३६ दशमलव पाँच प्रतिशत बराबर छ । नेपालले यस वर्ष १९ खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ बराबर आयात गर्ने ठानिएको छ ।

    त्यसैगरी चालु मूल्यमा राष्ट्रिय बचत (ग्रस नेसनल सेभिङ) कूल गार्हस्थ्य उत्पादनको ३१ दशमलव ६६ प्रतिशत बराबर छ । त्यस्तै जिडिपीमा विप्रेषणको अनुपात २२ दशमलव ८९ प्रतिशत बराबर हुने ठानिएको छ । चालु आवको जिडिपीमा सबैभन्दा बढी हिस्सा कृषि क्षेत्रको रहने अनुमान गरिएको छ । गत आवमा कृषि क्षेत्रले जिडिपीमा २४ दशमलव ६७ प्रतिशत बराबर हिस्सा ओगटेकामा यसवर्ष त्यो घटेर २४ दशमलव १२ प्रतिशत बराबर हुने प्रक्षेपण गरिएको छ ।

    तथ्याङ्क कार्यालयले चालु आवको पछिल्लो नौ महिना अवधिको तथ्याङ्क विश्लेषण गरेर वार्षिक अनुमान सार्वजनिक गरेको हो ।