× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामनामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुली, पर्यटन, कृषिका क्षेत्रमा हुन नसकेका कामको सुरूवात भएको छ – दानबहादुर गुरुङ

    १ वर्ष पहिले

    जेठ-१०,इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधि आएको एक वर्ष पूरा भएको अवसरमा सोमबार पालिकामा भएका विकास निर्माण र अन्य गतिविधिबारे पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।

    भौतिक पूर्वाधारतर्फ पहाडी भूगोलका सडकहरु स्तरोन्नति र सडकको दिगोपनाका लागि काम गरिएको पालिकाले जनाएको छ । खनेर पनि प्रयोगमा आउन नसकेका ग्रामीण सडकका गे्रड मिलाउने, घुम्ती सुधार गर्ने, ग्याबिन जाली लगाउने, रिटेनिङ पर्खाल लगाउने, सडक ढलान गर्ने, कालोपत्रे गर्नेजस्ता काम भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरूङले बताए । सडकका साथै सिँढी बाटो, गोरेटो बाटोसमेत निर्माण भएको छ । जनताको आवश्यकता र भूगोलको अवस्थिति हेरेर नयाँ सडक खोल्ने काम भएको भन्दै अध्यक्ष गुरूङले दिगो विकाससहितको निर्माणको कामले गति लिएको दाबी गरे ।

    आफ्नो कार्यकालको पहिलो वर्षको उपलब्धि संक्षिप्तमा जानकारी दिँदै गुरूङले भने, ‘सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुली, पर्यटन, कृषिका क्षेत्रमा हुन नसकेका कामको सुरूवात भएको छ भने अलपत्र कामले पूर्णता पाएको छ ।’ पुँजीगत खर्च ५० प्रतिशत पुगेको उनले बताए ।

    कृषि क्षेत्रतर्फ विपन्न घरपरिवार र उद्यमी कृषकलाई १० लाखबराबरको बीउ वितरण, २५ लाखबराबरको चिस्यान केन्द्र निर्माण सम्झौता, माटो ल्याब सञ्चालन भएको छ । त्यस्तै, कृषक समूहसँगको २५ प्रतिशत लागत साझेदारीमा कृषि एम्बुलेन्स खरिद प्रक्रिया अघि बढेको पालिका अध्यक्ष गुरूङले बताए । पशुसेवातर्फ हालै फैलिएको लम्पी स्किन रोग रोकथामका लागि प्राविधिकहरु फिल्डमा खटाएर काम गरिएको पालिकाले जनाएको छ । यस रोगका कारण ४० वटा पशु मरेको र ७ सय बढीको उपचार गरिएको भन्दै अन्य रोगविरूद्ध पिपिआर भ्याक्सिन, रेविज भ्याक्सिन दिइएको छ ।

    ६० जना गरिब तथा जेहनदार विद्यार्थीलाई ५ लाखको छात्रवृत्ति उपलब्ध गराइएको, एक विद्यालय एक करेसाबारीको सुरूवात भएको, स्वयम्सेवक शिक्षक व्यवस्थापन थालिएको तथा ५८ जना शिक्षकको पदस्थापन गरिएको उनले जानकारी दिए ।

    त्यस्तै, स्वास्थ्य सेवातर्फ २ सय ३ जना मोतियाविन्दुका बिरामीको निःशुल्क आँखाको अप्रेसन गरिएको छ । क्यान्सर, दन्त, क्षयरोगजस्ता रोगका निदान र उपचारका लागि स्वास्थ्य शिविर आयोजना गरिएको पालिकाको भनाइ छ । दारेचोक स्वास्थ्यचौकीलाई इच्छाकामना आधारभूत अस्पतालमा स्तरोन्नति गरी चिकित्सकसहितको डिजिटल एक्स–रे सेवा दिइएको छ । सुत्केरी र विपन्नका लागि निःशुल्क एवम् छूट सुविधाको एम्बुलेन्स सञ्चालनमा रहेको छ । विपन्न नागरिक स्वास्थ्य बिमा पालिकाको वडा नं–३ र ४ मा सम्पन्न भएको पालिका प्रमुख प्रशासकीय अधिकृत जगत भूषालले बताए । ३५ दिनभित्र छोरीको जन्मदर्ता गरेका ३५ जनालाई ३ लाख ५० हजार प्रदान गरिएको उनले बताए ।

    पालिकाको अनुमानित आय ७३ करोड २७ लाख रहेकोमा हालसम्म ५२ करोड २६ लाख संकलन भएको छ । पालिकाको चालू खर्च ६६ प्रतिशत छ । उपरदाङगढी, लामो झरना र केबलकारबाट मात्रै पालिकाले ८७ लाखजति आम्दानी गरेको प्रप्रअ भूषालले जानकारी दिए ।