× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • दृष्टिकोण

    “सुखी, खुसी र समृद्ध इच्छाकामना! कृषि, पर्यटन र पूर्वाधार विकास हाम्रो चाहना!!” – प्रशंसा सिलवाल

    २४ घण्टा पहिले

    प्रस्तुत नाराले नै हाम्रो इच्छाकामना समृद्ध बनाउने चाहना पूरा गर्न अठोट राख्दछ। चितवन जिल्लाकै एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका १६६.६७ वर्ग किलोमिटरमा फैलिएको छ। यस ठाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ। यस गाउँपालिका त्रिशुली नदीको काखमा अवस्थित छ। पूर्वमा धादिङ जिल्ला र पश्चिममा तनहुँ तथा भरतपुर महानगरपालिका रहेको छ। धरातलीय दृष्टिले विकट भएपनि विकासको अथाह सम्भावना बोकेको छ। यहाँ प्रसिद्ध जलबिरे झरना, उपरदाङ्गढी, सिराईचुली, हात्तीबाङ, इच्छाकामना मन्दिर, मुग्लिन बजार आदि रहेको छ।

    इच्छाकामनामा कृषि र पर्यटनको अथाह सम्भावना रहेको छ। यसका लागि स्थानीय , प्रदेश र सङ्घीय सरकार मिलेर विकास गर्नु पर्दछ। सबैभन्दा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुनुपर्दछ। कृषि भनेको हाम्रो समाजको आर्थिक मेरुदण्ड हो। धेरै मानिसहरूको जीवन निर्वाहको मुख्य स्रोत नै कृषि हो। कृषि विकास गर्न गाह्रो पनि छैन । कृषि परम्परागत पेशा भएकोले कृषिमा आधारभूत ज्ञान छ। इच्छाकामनामा सुन्तला, केरा खेती तथा सबै प्रकारका तरकारी खेतीको सम्भावना रहेको छ। यहाँको जलवायु कृषि कार्यको लागि एकदम उत्कृष्ट छ। यहाँ कुखुरा पालन, भैँसी पालन बाख्रापालन, मौरी पालन गर्न उपयुक्त वातावरण रहेको छ। यसको प्रवर्धन गर्न किसानलाई तालिम उचित दिलाउनु पर्दछ। कृषिलाई व्यवसायिकीकरण गरी वैदेशिक पलायनलाई रोक्नुपर्छ। युवाहरुलाई कृषि पेशाप्रति आकर्षण गराउन सकेमा हाम्रो इच्छा कामना समृद्ध बनाउने सपना साकार हुन्छ। यहाँको उत्पादनलाई बिक्री गर्न बजारको व्यवस्था, बाटोघाटोको व्यवस्था र स्थानीय स्तरमै खपत गराउने वातावरण स्थानीय सरकारले गर्नुपर्छ। विषादी रहित अर्गानिक खेतीलाई प्रवर्द्धन गर्न सक्यो भने यहाँ पर्यटकहरु भित्रिन्छन् ।जसले गर्दा गाउँँगाउँमा होमस्टे सञ्चालनमा ल्याउन सकिन्छ र यहाँ मानिसहरू मानिसहरू स्वरोजगारी बन्न सक्छ।

    यहाँको जलबिरे झरना, सिराईचुली, उपरदाङ्गढी, हात्तीबाङ जस्ता पर्यटक क्षेत्रले दिनहुँ हजारौं मानिसहरूलाई आकर्षित गरेको छ। यस क्षेत्रको अझै प्रवर्धन गर्न पर्यटकको लागि उपयुक्त होटल, लज, सवारी साधन र सुरक्षाको व्यवस्था हुनुपर्छ। धेरैभन्दा धेरै वैदेशिक पर्यटक भित्र्याउन पहल गर्नुपर्छ। हाम्रा आकर्षित ठाउँहरूको बारेमा विभिन्न संचार माध्यमहरूको मार्फत प्रचारप्रसार गर्नुपर्छ। यहाँको त्रिशुली नदीमा राफ्टिङको लागि उपयुक्त डुङ्गा र चालकको व्यवस्था गर्नुपर्छ। त्यसैगरी यस क्षेत्रमा पानीजहाजको पनि सञ्चालनमा ल्याउन सकिन्छ। आकर्षक क्षेत्रको विकास र विस्तारमा स्थानीय, प्रदेश र संघीय सरकार तथा सरोकारवालाहरूको बेलाबेलामा अन्तरक्रिया हुनुपर्छ। यहाँको भिन्न भिन्न सांस्कृतिक नाचहरूको संरक्षण गरी पर्यटकलाई मनोरञ्जन दिलाउनुपर्छ। पर्यटन व्यवसायमा युवाहरूलाई जागरुक गरी विदेश पलायन हुने ठूलो हिस्सा हटाउन सकेमा हाम्रो इच्छाकामना सुखी र खुसी बन्न सक्छ। सुरक्षित हाइकिङ, प्याराग्लाइडिङमा विशेष जोड दिएर पर्यटकहरुलाई भित्र्याउन सकियो भने पनि इच्छाकामना समृद्ध बन्न सफल हुन्छ।

    हाम्रो गाउँपालिकामा रहेको ५० वटा सामुदायिक र पाँचवटा संस्थागत विद्यालयले गुणस्तरीय शिक्षा दिनुपर्छ। स्थानीय पाठ्यक्रममा कृषि र पर्यटनलाई जोड दिने विषयवस्तु समावेश गर्नुपर्छ। जसले विद्यार्थीहरू कृषि र पर्यटन प्रति आकर्षण हुन्छ। कृषिका लागि प्राविधिक विद्यालय स्थापना गर्न स्थानीय सरकार र प्रदेश सरकार लागि पर्नुपर्छ। कृषि प्राविधिक विद्यालय खोलेर आफ्नै ठाउँमा कृषि उत्पादनमा जोड दिनुपर्छ। यहाँको टिमुर, कुरिलो, हर्रो, बर्रो, शितलचिनी, जटा मसी जस्ता जडीबुटीलाई प्रशोधन गरेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याएर वैदेशिक मुद्रा आयआर्जन गर्न सकिन्छ। आयुर्वेदिक पसल खोलेर स्वास्थ्य उपचारमा जडीबुटी प्रयोग गर्यो भने महँगो चिकित्सा विज्ञानको प्रयोग गर्नुपर्दैन।

    यहाँको शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारलाई मजबुत बनाउन सकेमा मानिसहरु बसाई सरेर जाने छाड्छन् । सुविधा सम्पन्न इच्छाकामना भएमा अन्य क्षेत्रका मानिसहरू बसाई सरेर यहाँ व्यवसाय गर्न आउँछन्। जसले गर्दा उत्पादन तथा खपतमा बृद्धि हुन जान्छ। यो ठाउँको विकासमा सबै जना लागि पर्नुपर्छ। विदेश पलायन भएका युवाहरुलाई आफ्नै ठाउँमा फर्कने वातावरण सिर्जना गर्नुपर्छ। यहाँ रहेको मुग्लिन बजार, कुरिनटार, फिस्लिङ बजारलाई व्यवस्थित गरी स्वादिष्ट खानाको प्रख्यात हब बनाउनुपर्छ। पृथ्वी राजमार्गमा रहेको यो बजारमा सकेसम्म यात्रुहरूलाई सुरक्षित, सुपथ, स्वास्थ्यकर र स्वादिष्ट खानाको पहिचान दिनुपर्छ। जसले गर्दा यहाँ बजार चम्किलो बनोस्। गाउँ गाउँमा उचित होमस्टे सञ्चालन गरी यहाँको मौलिकता झल्काउने अर्गानिक खानाको व्यवस्था गर्नुपर्छ। पाहुनाहरूको स्वागत र सत्कारमा विशेष ध्यान दिनुपर्छ। एकपल्ट आएका पाहुनाहरुलाई दोहोर्याएर आउने वातावरण सिर्जना गर्नुपर्छ।

    इच्छाकामना मन्दिर जाने बाटो सरल र सहज बनाउन सकेमा दिनहुँ हजारौं मानिस दर्शन गर्न आउँछन्। यहाँ बन्ने हस्तकला सामानहरूको उचित प्रचारप्रसार गर्नुपर्छ। पर्यटकीय क्षेत्रमा पूर्वाधार अन्तर्गतका बाटोघाटो, बिजुली, इन्टरनेट, अस्पताल सबै ठाउँमा पुर्‍याउनुपर्छ जसले गर्दा कुनै पर्यटकहरुलाई अप्ठ्यारो महसुस नहोस्। यहाँको खोला नालालाई संरक्षण गर्नुपर्छ। यहाँ पानीजहाज राफ्टिङ गर्ने व्यवस्था गरेर धेरैभन्दा धेरै पर्यटकहरु भित्र्याउन सकिन्छ जसले गर्दा स्वरोजगार बन्न सकिन्छ। यहाँ उत्पादन भएका सामानहरुलाई व्यापार गर्नको लागि हाटबजारको व्यवस्था गर्नुपर्छ। साना तथा घरेलु उद्योगमा मानिसहरूलाई आकर्षित गर्नुपर्छ।

    अन्त्यमा, “सुखी, खुसी र समृद्ध इच्छाकामना, कृषि, पर्यटन र पूर्वाधार विकास हाम्रो चाहना।” भन्ने नारालाई चरितार्थ गर्नका लागि कसैको एकल प्रयासले मात्रै नहुने भएकोले सम्पूर्ण सरोकारवालाहरु एकजुट भएर लाग्नुपर्छ। जय इच्छाकामना।

    प्रशंसा सिलवाल, मर्स्याङ्दी शिक्षा सदन स्कुल मुग्लिनको कक्षा १० मा अध्ययनरत छिन्।