४ दिन पहिले
कार्तिक-१७, नेपाल संवत् नयाँ वर्ष ११४५ सुरू भएको छ । यो संवत् कार्तिक शुक्ल पक्षको प्रतिपदादेखि सुरू हुन्छ । लक्ष्मीपूजाको भोलिपल्टदेखि सुरु हुने यो संवतमा आधारित रहेर विभिन्न जात्रा र उत्सव निश्चित गरी मनाउने गरेको पाइन्छ ।
आजको दिन एकआपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्षको भिन्तुना र्याली पनि निकाल्ने परम्परा छ । यस दिनको अर्को विशेष पक्ष भनेको ‘म्ह पूजा’ पनि हो । नेवाः समुदायमा ‘म्ह पूजा’ र नेपाल संवत् एकैदिन मनाउने चलन चल्दै आएको छ । नेपाल संवत् सम्पूर्ण नेपालीको हो ।
त्रिभुवन विश्वविद्यालय, नेपालभाषा केन्द्रीय विभागका उपप्राध्यापक डा. बज्रमुनि बज्राचार्यका अनुसार लिच्छवि कालका अभिलेखमा विभिन्न संवतहरु नामकरण गरिएको पाइन्छ ।
त्यसबेला नेपाल संवतलाई संवत् मात्रै भन्ने चलन थियो । राजा राघवदेवको पालादेखि नेपाल संवत् सुरु भएको उहाँको भनाइ छ । इतिहासका धेरै ग्रन्थहरुमा राजा राघवदेवको नाम उल्लेख भएको पाइन्छ । अर्को किम्बदन्तीमा भनिएको छ कि नेपालमा पहिला विभिन्न प्राकृतिक प्रकोपहरु हुन्थ्यो ।
यस्तै, उहाँ भन्नुहुन्छ “शङ्खधर नाम गरेको व्यापारीसँग पनि नेपाल संवतको किम्बदन्ती जोडिएको पाइन्छ । उक्त व्यापारीले काठमाडौंका सबै ऋणहरुलाई ऋण मुक्त गरिदिएको दिनदेखि हर्षेाल्लासका साथ नयाँ दिन र नयाँ वर्ष अर्थात् शांख्वा संवत् मनाउने चलन सुरु भएको मानिन्छ ।”तर यसको कुनै सांस्कृतिक उल्लेख भने नरहेको उहाँ बताउनुहुन्छ ।
“नेपाल संवत् हाम्रो देशको नामबाट प्रचलित छ । नेपाल संवत् नेवार समुदायको मात्रै नभएर सम्पूर्ण नेपालीहरुको हो, यो कृषिसँग पनि सम्बन्धित छ,” उहाँ भन्नुहुन्छ ।
नेवाः समुदायमा ‘म्ह पूजा’ मनाउने चलन सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् सुरू भएको दिन नेवार समुदायमा ‘म्ह पूजा’ गर्ने चलन छ । म्ह पूजा नेपालभाषाको शब्दावली हो जसको अर्थ हुन्छ, शरीर वा आत्मा पूजा । ‘म्ह’ को अर्थ शरीर वा आत्मा हो । त्यसैले शरीरको पूजा नै म्ह पूजा हो ।
उहाँका अनुसार जबदेखि नेवाःहरु सभ्य जीवन जिउन सिके त्यसबेलादेखि नै आवश्यकताअनुसार धर्म र संस्कृतिको विकास हुँदै गएको छ । नेवाः समुदायले मनाउने स्वन्ति नखःमा म्ह पूजाको ठूलो महत्व रहने उहाँको भनाइ छ ।
नेवाः समुदायमा लक्ष्मी पूजाको दिन आर्थिक वर्षको अन्त्य गरी म्ह पूजा गरेर नयाँ वर्षको सूरुवात भएको मानिन्छ । मानिसको जन्मदिन मनाए जस्तै म्ह पूजा गरेपछि नयाँ जीवन सुरु भएको मानिन्छ ।आजको दिन आफू मण्डप (काय मण्डल) अगाडि बसेर विभिन्न विधि विधानमा रहेर म्ह पूजा गर्दैै नयाँ जीवनको सुरुवात भएको मानिन्छ ।
नेपाल संवत् अर्थात् नयाँ वर्षको पहिलो दिन आफ्नै शरीरलाई पूजा गर्ने परम्परा आफैँमा मौलिक रहेको उपप्राध्यापक बज्राचार्य बताउनुहुन्छ । आजको दिन नुहाउने, सरसफाई गर्ने, नयाँ लुगा लगाएर मण्डप अगाडि बसेर रातको समयमा म्ह पूजा गर्ने चलन रहेको छ ।