२१ घण्टा पहिले
फागुन-२७, इच्छाकामना आधारभूत अस्पतालमा पनि नयाँ वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । २०८२ वैशाख १ गतेदेखि बीमा कार्यक्रम लागू हुने गरी इच्छाकामना अधारभूत अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए ।
सम्झौतामा स्वास्थ्य बीमा बोर्डका तर्फबाट निमित्त निर्देशक डा सरोज शर्मा र अस्पतालका तर्फबाट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गम न्यौपानेले हस्ताक्षर गरेका छन् । गाउँकै अस्पतालमा स्वास्थ्य बीमा लागू हुने भएपछि यस क्षेत्रका सर्वसाधारणलाई आधारभूत सेवाको लागि भरतपुर पुग्नुपर्ने बाध्यताको अन्त्य हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष गुरूङले गाउँपालिकाले नै चलाएको अस्पतालमा स्वास्थ्य बीमा लागू गराउने प्रयास करिब डेढ वर्षदेखिकै भएको बताए । ‘डेढ वर्षसम्मको प्रयासपछि बल्ल हाम्रो प्रयासले सार्थकता पाएको छ,’ उनले भने, ‘अब इच्छाकामनावासीले गाउँमै सहज उपचार पाउने छन् ।’ घरदैलोमै बीमा कार्यक्रम लागू भएपछि उपचार खर्च सस्तो बन्ने उनको भनाइ छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतका अनुसार गाउँपालिकाले सञ्चालन गर्दै आएको आधारभूत अस्पतालमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएपछि स्थानीयले स्वास्थ्योपचारको क्षेत्रमा राहत महसुस गर्नेछन् । ‘स्वास्थ्य बीमाको सेवा गाउँबाटै लिन पाइने भएपछि भरतपुरसम्म पुग्नुपर्ने समय र खर्च कम हुने हुँदा स्थानीयले कम खर्चमै सेवा पाउने छन्,’ उनले भने
हाल गाउँपालिका परिसरमै सञ्चालन हुँदै आएको आधारभूत अस्पतालले १५ शøयाबाट सेवा दिइरहेको छ । कुरिनटारस्थित सव–डिभिजन वन कार्यालयको आडैमा अस्पतालको भवन निर्माणाधीन छ । उक्त भवन निर्माणपछि अस्पतालको सेवामा थप सहज हुने गाउँपालिकाले जनाएको छ ।