× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मकाउबाट फर्कंदै ३१ नेपाली

    ४ वर्ष पहिले

    मकाउबाट पाँच जना महिलासहित ३१ जना नेपाली भदौ २४ (सेप्टेम्बर ९) मा नेपाल फर्कंदै छन्।

    कोभिड १९ को असरले रोजगारी गुमाएका वा कम्पनीसँग सम्झौता सकिएका ३१ जना नेपाली हङकङ हुँदै नेपाल एयरलाइन्सको जहाजबाट नेपाल फर्कन लागेका हुन्।

    गैरआवासीय नेपाली संघ– एनआरएनए मकाउका अध्यक्ष पूर्ण गुरुङका अनुसार नेपाल फर्कनका लागि उडानअघि कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएकाले ३१ जना सबैले ८ सेप्टेम्बर (मंगलबार) भित्र पीसीआर परीक्षण गराउँदै छन्।

    मकाउमा रोजगारी गुमाएर बिचल्लिमा परेका नेपालीलाई नेपाल फर्काउ नेपाली महावाणिज्य दूतावास र एनआरएनएले पहल गरेका हुन्। तर उनीहरूले नेपाल आउने जहाज टिकट आफैंले किनेका हुन्।

    मकाउबाट बसमा केही घण्टाको बाटो हङकङ आएर बुधबार उनीहरू नेपाल एयरलाइन्सको नियमित जहाजबाट काठमाडौं उड्ने तयारी छ।

    ‘महावाणिज्य दूतावासले हङकङ सरकारसँग कुराकानी गरेर हङकङ प्रवेश गर्दा १४ दिन क्वारेन्टिनमा बस्नु नपर्ने व्यवस्था मिलाएको छ’, अध्यक्ष गुरुङले भने, ‘मकाउबाट रिजर्भ बसमा आएर सिधै हङकङ विमानस्थलभित्र छिर्ने गरी दूतावासले नै बस रिजर्भ पनि गरेको छ।’

    हङकङ हुँदै फर्कंदा यहाँको भिसा लिनु पर्ने भएकाले ३१ जना सबैको भिसा पनि दूतावासले लिइदिइ सकेको गुरुङले बताए।

    मकाउमा काम गर्न आएका नेपाली कोभिडको असरका कारण नेपाल फर्कन लागेको यो दोस्रो पटक हो। यसअघि २७ जुनमा नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट ६३ जना नेपाल फर्केका थिए।

    एनआरएनएका अध्यक्ष गुरुङका अनुसार यसपाली रोजगारी गुमाएका वा कम्पनीसँग सम्झौता सकिएका ६५ जनाले नेपाल फर्कन आवेदन दिएका थिए। तीमध्ये ४७ जना अन्तिममा फर्कने तयारीमा थिए। तीमध्ये पनि कतिपयलाई कम्पनीले फेरि काममा फर्किन भनेपछि अब ३१ जना नेपाल फर्कन लागेका हुन्।

    नेपालीका लागि सुरक्षित रोजगार गन्तव्य मानिएको मकाउमा करिब चार हजार नेपाली कार्यरत रहेको अनुमान छ।

    Source: NepalKhabar