४ वर्ष पहिले
एजेन्सी, कोरोना भाइरसको महामारीले सारा विश्व नै आक्रान्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसले ज्यान गुमाउन पुगेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
चीनको वुहान शहरबाट फैलिएको मानिने कोरोना भाईरस अहिले विश्वको २१५ वटा देशहरुमा पुगिसकेको छ ।
विश्वकै वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।
यसैबीच बेलायतमा फेरि कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले आगामी सोमबार (सेप्टेम्बर १४ )देखि लागु हुनेगरि एक ठाउँमा ६ जना भन्दा धेरै जम्मा हुन प्रतिबन्ध लगाईएको छ ।नयाँ नियम लागु भएपछि प्रथम पटक नियम उल्लङ्घन गर्नेलाई १०० पाउण्ड र हरेक पटक गल्ति दोहोराउदै जानेलाई दोब्बर जरिवाना गरि अधिकतम ३२०० पाउण्ड सम्म जरिवाना गर्ने जनाईएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बुधवार प्रेस कन्फ्रेन्स मार्फत यो जानकारी गराएका हुन् ।
अघिल्लो दिनको (सेप्टेम्बर ८) २४ घण्टामा २ हजार ४ सय २० जना नयाँ संक्रमित र ३२ जनाको मृत्यु भएपछि यो निर्णय लिइएको हो ।
बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण ४१ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ भने ३ लाख ५५ हजार २ सय १९ जनालाई संक्रमण भएको छ ।
एजेन्सीको सहयोगमा