× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • स्वास्थ्य

    बिहानै मोबाइल हेर्नाले बढाउँछ यी रोगहरू

    ४ वर्ष पहिले

    काठमाडौं । अहिलेको समयमा कोही पनि मोबाइल बिना बस्न नसक्ने भइसकेका छन् । मोबाइलले धेरै कुरामा सजिलो बनाए पनि यसको लत पनि बस्दै गएको छ ।

    अहिले मानिसहरूले फोन यति धेरै प्रयोग गर्छन् कि राति अबेरसम्म मोबाइल चलाउने र बिहान उठ्ने बित्तिकै पनि मोबाइल चलाउनु नै पहिलो काम भएको छ । बिहान उठ्ने बित्तिकै मोबाइलको उपयोग स्वास्थ्यको लागि अत्यन्तै हानिकारक छ ।

    आईटी इञ्जिनियर सयुज आचार्यले बिहान उठ्ने बितिक्कै मोबाइल प्रयोग गर्दा हुने रोग र अन्य खतराहरूकाबारे केही सुझाव दिएका छन् ।

    आँखा र दिमागमा असर

    मोबाइलबाट निस्किने किरणलाई लामो समय हेर्दा आँखाको दृश्यशक्तिलाई कमजोर पार्दै लान्छ । मोबाइलको किरण प्रत्यक्ष्य रूपमा आँखामा पर्ने हुनाले यसको असर टिभीको स्क्रिनको तुलनामा अझै कडा हुन्छ ।

    ज्यादा मोबाइल प्रयोग गर्नाले आँखा र टाउको दुख्ने, गर्दन दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या निम्तिन सक्छन् । जुन यसले दिमागमा पार्ने असरको कारण बन्न सक्छ ।

    तनाव र चिन्ता

    चिन्ता विना शान्तिपूर्वक आफ्नो दिनचर्या सुरु गर्नु उत्तम हुन्छ । यदि तपाईंले बिहान उठ्ने बित्तिकै मोबाइललाई आफ्नो हातमा लिनुहुन्छ भने फोनकल, म्यासेज, इमेल, रिमाइन्डर, सोसल मिडिया इत्यादिले भरिएको हुन्छ जसले चिन्ता र तनाव निम्त्याउन सक्छ ।

    यदि तपाईं निद्राबाट ब्युँझ्ने बित्तिकै सोसल मिडिया हेर्न सुरु गर्नुभयो भने, दिमाग यसमा गाँसिएको हुन्छ र अनावश्यक जानकारीले भरिन्छ । तनाव र चिन्ताको साथ दिनको सुरुवात स्वास्थ्यको लागि हानिकारक मानिन्छ ।

    चिडचिडापन बढ्नु

    यदि तपाईंले बिहान उठ्ने बित्तिकै मोबाइल फोन हेर्ने गर्नुभयो भने, तपाईंले नचाहँदा नचाहँदै पनि चिढचिढापन आइ नै हाल्छ । बिहानको तालिकाको सुरुवात मोबाइलमा प्राकृतिक रूपमा आफसेआफ परिवर्तन हुनसक्छ ।

    यसको कारण यो हो बिहान उठेपछि मोबाइलमा केही त्यस्ता प्रकृतिका समाचार, फोटो, कार्टुन, चित्र देख्नुभयो जुन नकारात्मक छ, यसले सीधा मस्तिष्कलाई असर गर्छ । रिस उठ्ने, तनाव हुने, अनियन्त्रित हुने लगायतका कुरा यसको कारणले पैदा हुनसक्छ ।

    कार्यक्षमतामा प्रभाव

    बिहान सबभन्दा पहिले मोबाइल हेर्दा नकारात्मक सूचना देखेपछि दिमागले उही विषयको बारेमा सोच्न थाल्छ । यसले अन्य कामलाई ध्यानमा राख्दैन र सिधै कार्यक्षमतामा असर पुर्‍याउँछ ।

    डिप्रेसनको डर

    सुत्ने समयमा मोबाइल हेर्नु र उठ्ने बित्तिकै मोबाइल नै प्रयोग गर्दा अवस्था झन खराब हुनसक्छ । यसरी नियमित रूपमा प्रयोग गर्ने मानिसहरू डिप्रेसनबाट ग्रस्त हुन सक्छन् ।

    बिहान उठ्ने बित्तिकै सामाजिक सञ्जाल र विभिन्न किसिमका समाचारहरू पढेर र हेरेर मानिस दिक्दारीमा फस्छ । अरूको जीवनशैली देखेर तिनीहरू निराश हुन्छन् र आफैंलाई तुलना गर्न थाल्छन् जसले प्रयोगकर्तामा डिप्रेसन निम्त्याउन सक्छ ।

    नियमित रूपमा बिहान के गर्ने ?

    – यदि कुनै जरुरी काम छैन भने बिहान उठ्ने बित्तिकै मोबाइल हेर्नुको सट्टा यसलाई चार्जमा राखी बिहानलाई अन्य महत्वपूर्ण कार्यहरूमा व्यस्त बनाउने । बिहानको व्यवहारले व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । मुड सुधार्न र सम्पूर्ण शरीरलाई शान्त राख्नका लागि हाम्रो मेटाबोलिजम सही राख्नु अत्यन्त महत्वपूर्ण हुन्छ ।

    – बिहान उठेपछि, खाली पेटमा एक गिलास मनतातो पानीमा कागतीको रस मिसाएर पिउँदा पाचन प्रणालीलाई सफा राख्छ र प्रतिरोध क्षमता बढाउँछ । कागतीमा रहेका तत्वहरूले मेटाबोलिजम बढाउन मद्दत गर्छ ।

    – दिनचर्यालाई तालिका बनाएर ढाल्नुहोस् । योग, एरोबिक्स, तौल भार उठाउने वा राम्रो व्यायाम गर्ने बानी बसाल्नुस् ।

    – ध्यानले दिमागलाई शान्त राख्छ त्यसैले यसलाई नियमित गर्नुहोस् ।

    – परिवारसँग बसेर ग्रिन टीको चुस्कीसँगै अखबार पढेर बिहान बिताउनुहोस् ।

    – बिहानको नियमित तालिका पछि मात्र मोबाइल हेर्ने बानी गर्नु राम्रो हुन्छ । नारी मासिकबाट