४ वर्ष पहिले
स्यानिटाइजर कसरी बनाइन्छ ?
विभिन्न घटक (रसायन)लाई निश्चित मापदण्डमा मिसाएर स्यानिटाइजर तयार पारिन्छ। त्यसलाई निश्चित भाँडोमा तोकिएको परिमाणमा गुणस्तरीय ढंगले तयार पार्नुपर्छ। यसमा मुख्यतः अल्कोहल प्रयोग गरिन्छ।
स्यानिटाइजर बनाउने रसायन नेपालमै पाइन्छ कि विदेशबाट ल्याउनुपर्छ ?
इथानोल नेपालमा पाइन्छ। आइसोप्रोपाइल अल्कोहल आयात गर्नुपर्छ।
मेथानल रसायन मिसाएको पनि पाइएको छ। यो रसायन विषाक्त होइन र ?
मेथानल विषाक्त रसायन हो। यसको प्रयोग गर्नु हुँदैन।
विषाक्त रसायन मिश्रित उत्पादन कसरी थाहा पाउन सकिन्छ ?
स्यानिटाइजरको लेबलमा लेखिएको छ भने पढेर थाहा पाइन्छ। केही विज्ञले गन्धबाट पत्ता लगाउन सक्छन्। स्यानिटाइजरको परीक्षण गरेरै पहिचान गर्न सकिन्छ।
स्यानिटाइजरको गन्ध मादक पदार्थजस्तो हुन्छ, किन होला ?
मादक पदार्थ र स्यानिटाइजरमा मिसाउने तत्व एकै हुने भएकाले उस्तै गन्ध आएको हो। दुवैमा इथानोल प्रयोग गरिन्छ। गन्ध हटाउन विभिन्न फ्लेबरमा पनि राख्ने गरेको पाइन्छ।
गुणस्तरीय र विषाक्त भनेर कसरी थाहा पाउन सकिन्छ ?
गुणस्तरीय र विषाक्त के हो भनी यकिन गर्न स्यानिटाइजरमा मिसाइएको रसायनको परीक्षण गर्नुपर्ने हुन्छ।
गुणस्तर अनुगमन गर्न साधनस्रोतको अवस्था के छ ?
हामीकहाँ साधनस्रोत अभाव छ। तापनि भएको सीमित साधनस्रोतबाटै अघि बढेका छौं।
गुणस्तरहीन उत्पादन पाइए कारबाही गर्न सकिन्छ कि सकिँदैन ?
गुणस्तरहीन उत्पादन गर्ने उद्योगविरुद्ध कारबाही गर्न सकिन्छ। कारबाही प्रक्रिया अघि बढाएका पनि छौं। एउटा मुद्दा अदालतमा विचाराधीन छ।
स्वदेशमा उत्पादित र विदेशबाट आयातीतमध्ये कुन कत्तिका गुणस्तरयुक्त छन् ?
हालसम्मको परीक्षणबाट स्वदेशी गुणस्तरहीन पाइएको छ। विदेशी पनि गुणस्तरहीन हुन सक्छन्।
स्यानिटाइजर कति पटक प्रयोग गर्ने हो ?
साबुनपानीले हात धुन नमिल्ने अवस्थामा स्यानिटाइजर प्रयोग गर्नुपर्छ। संक्रमण हुन सक्ने स्थानमा रहँदा, बस्दा यसको प्रयोग गर्नुपर्छ। तर, धेरै पटक प्रयोग गर्नु उपयुक्त होइन।
(अन्नपूर्णकर्मी दिनेश गौतमले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालसँग गरेको कुराकानी)