४ वर्ष पहिले
फेरि सरकारले निषेधाज्ञालाई खुला गरी जनजीबनलाई सहज गर्ने प्रयास गरेको छ । रोगले भन्दा भोगले मर्न र मारिन बिबश जनता टुलु टुलु के गर्ने ? कसो गर्ने ? बिखलन्दमा परेर न मर्नु न बाच्नुको दोसाधमा छपटिदो छ । ऋण धन गरेर ब्यापार ब्यबसाय गरेका ब्यबसायीहरु चौपट्ट परेर टाट पल्टिन थालि सकेका छन । एक छाकको जोहो समेत गर्न नसक्ने पीडादायी स्थितिबाट मेहनतकश श्रमजीवीहरु भौतरिनु परेको छ । लाखौ बिध्यार्थीहरु बिध्यालयबाट टाढा बसी घरकै कोठामा अधामरा भबिष्यको पाना पल्टाइरहेका छन । जता हेर उता धेर भने जस्तो के शिक्षक ? के बिध्यार्थी ? सबै तह र तप्काको जनताको हालत लेखी साध्य छैन । भनी साध्य छैन । सबैको साझा अभिभावक सरकार खै के मा हो के मा कुम्भकर्ण झै न लुतो न कनाई मस्तराम घोर निद्रामा ब्यस्त देखिन्छ । प्रतिपक्ष भनाउदाहरु सामाजिक संजालमा रोईलो काटनु भन्दा अर्थोक केहि नजान्ने झै गाड कोरोकोर गर्न मै आनन्द मानिरहेको छ । कोरोना त अब कहर होईन हजूर जहर भन्दा बिषालु भएर अब घर घर पाहुना लाग्न थालिसकेको छ । अब यो स्वास्थ्य समस्या मात्र नभएर जनजीबनको साझा बाधा बनेर सबैलाई टोक्न र ठोक्न थालिसक्यो ।
फ्रन्ट लाईनका स्वास्थ्य र सुरक्षाकर्मी बिचरा ज्यानको बाजी लगाई अहोरात्र खटी राखेको छ, जुटी राखेको छ । न सम्मान छ, न सुरक्षा छ, न सुबिधा छ र पनि आफ्नो पेशागत धर्म निर्बाहा स्वरुप काममा खटी रहेका यी स्वेतबश्त्रधारी भगबानहरुलाई निमुखा अदाना जनताको दिन दिनको र छिन छिनको आशिर्बाद र शुभ कामना चाहि काफी छ । सरकारले यो समस्यालाई भद्धा मजाक र सस्तो हास्य बनाएर आम नेपाललाई मूर्ख र भेडा माने । न स्वास्थ्य पूर्बाधार जुटाउन लागे, न संभाबित जोखिमको उचित ब्यबस्थापनको लागि पूर्ब तयारी र साबधानी अपनाए । कोरोना कहरलाई कमाई खाने दुर्लभ अबशरको रुपमा प्रयोग गर्न हाकाहाकी कमिशन र भ्रष्ट्राचारमा लिप्त भए । ठाँउ न ठहर बूढो बाउको रहर भन्या जस्तो पार्टी र सरकारको आन्तिक झगडालाई बिस्कुन छरे जस्तो छरपस्ट पोखेर जग हसाईको मसला बनाए । आम जनता रोग र भोगले डढेलो लागेको बन जस्तो ह्वारह्रार्ती जलीरहेको छ, बलीरहेको छ । सरकार बीच सडकमा बसेर रमिता हेर्ने जात्रालु झै मूक दर्शकको शैलीमा निष्पृह देखिन्छ । यो सरकार हो कि खकार हो ? भेउनै नपाउने भो । मुखमा राखीरहु घिन लाग्ने, बाहिर फालु दुर्गन्ध र संक्रमणको डर लाग्ने । न फाल्न सक्ने, न निल्न सक्ने । अब जनताले सरकारको भर परेर न जोगिन सक्न, न बाच्न । एकताकाको पपुलर नारा आफ्नो गाउँ आफै बनाउ भन्या जस्तो आफ्नो ज्यान आफै जोगाउ भनेर जोगिनु बाहेक अर्को बिकल्प देखिदैन । अब रोग सँग भन्दा भोक सँग डर भारी भो । निर्धारित स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाएर जीबनलाई पुरानै लयमा फर्काउनु बाहेक अब अर्को बिकल्प दैखिदैन । सरकारले आम जनतालाई प्रत्यक्ष राहत पुग्ने प्याकेज ल्याउन कस्ले रोकेको छ ? हेर्दा बुझ्दा नै ताज्जुब लाग्छ ।
६–६ महिना घरभित्रै थुनिएर आफ्ना लालाबालाको पेट मारेर ब्यापार ब्यसाय सब लात ठोकेर चर्को ऋण र सर सापटीको बोझमा किचिएर, रोजगारी र आय आर्जनका सबै बाटाहरु बन्द गराएर भए पनि आम जनताले त भिषण त्याग गरिसक्यो । रोगसंगै भोकले मर्न परे पनि सरकारको आदेश पालक बनेर ईमान्दारिता देखाईसक्यो । अब त्याग र ईमान्दारिता देखाउने पालो सरकारको हो । यसै पनि सरकार सबैको साझा अबिभाबक र जनताको पालक हो । प्रधानमन्त्री, मन्त्री, सांसद, मेयर, उप-मेयर, अध्यक्ष, उपाध्यक्षले खाएका लिएका तलब भक्ता देखि कार्यकर्तालाई गरी खाउ भनेर दामासाहीमा बाडी चुडी गर्ने सांसद कोषको बजेट सबै शतप्रतिशत राहत कोषमा राखौ । लाखौको संख्यामा रहेका निजामती कर्मचारी देखि शिक्षक, राज्य र संगठित संघ संस्थाबाट सुबिधा र तलब लिने सबै कर्मचारीहरुको तलब भत्ता आधा काटेर सो कोषमा जम्मा गरौ । अर्बौ लाभांश बाडने बैंक तथा बित्तिय संस्थाबाट यो अबधिमा ऋणीका पाकेका ब्याज मिनाहा गरौ । यसरी संग्रहित भएका कोषको रकमबाट आम जनतालाई उस्को गच्छे र स्तर हेरी प्रत्यक्ष राहत पुग्ने गरी आर्थिक सहयोग नै बितरण गरौं । गरी खान पौरखीहरुलाई शून्य ब्याजदरमा ऋण प्रवाह गरौ । उत्पादित फसल र उपजलाई खरिद मूल्यको ग्यारेन्टी गरी बिक्री बितरणको ब्यबस्था गरौ । खै गरी खाने जनता मरी रहेको कस्ले पो हेरेको छ र ? यो महामारीलाई लुटी खाने धन्दा र कमाई गर्ने ब्यापार बनाएको छ । अब पनि यो वा त्यो बहानामा यो संकटलाई खेलाची गरी राख्यो भने नागरिक बिद्रोह हुन बेर छैन । भूगोल र भाषा नाघेर सिङ्गो माबनजातिकै साझा शत्रुको रुपमा सबैलाई तहस नहस पारीरहेको यो कोरोनालाई सरकार आफै एक्लैले पार लगाउन पनि सकिदैन । सबैले आ-आफ्नो स्थान र स्थलबाट जुटेर, आ-आफ्नो औकात र हैसियत अनुसारको त्याग गरेर मात्र यसलाई जित्न सकिन्छ । एकीकृत प्रयास, पहल र अभ्यासबाट नै पार पाउन सकिन्छ ।
कोरोनासँग खेलाची पनि नगरौ, कोरोनालाई पार पाउनै नसक्ने प्रलय मानेर नतर्सौ ।
– राम बहादुर लामा