× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    जुम्लामा डा.गाेबिन्द केसीको सत्याग्रहः आज चौथो दिन

    ४ वर्ष पहिले

    जुम्लाको चन्दननाथ नगरपालिका– ६ रानीचौरस्थित बाबिरा मष्टोको मन्दिर परिसरमा सत्याग्रहरत डा. केसीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डा. प्रवीण गिरीसहित स्वास्थ्यकर्मीको टोलीले उनको स्वास्थ्य परीक्षण गरेको छ । मुटुको धड्कन बढिरहेको भए पनि स्वास्थ्य अवस्था स्थिर रहेको उनले बताए । ‘उहाँको स्वास्थ्य अवस्था स्टेबल भए पनि मुटुको धड्कन, बिपी बढ्दै गएको छ,’ डा. गिरीले भने । 

    सत्याग्रहमा बसिरहेका डा. केसीलाई भेटेर ऐक्यबद्धता जनाउन स्थानीय बासिन्दा र राजनीतिक दलका नेताहरूको भिड लाग्न थालेको छ । बुधबार सबैजसो राजनीतिक दलका नेताले भेटेर ऐक्यबद्धता जनाएको उनका स्थानीय सहयोगी महेन्द्र कार्कीले बताए । 

    कांग्रेसका जिल्ला सभापति दीपबहादुर शाहीले डा. केसीका माग जायज रहेको बताउँदै सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए । ‘पार्टीको केन्द्रबाट त लिखित वा मौखिक कुनै निर्देशन छैन । तैपनि जिल्ला कार्यसमिति जुम्लाको उहाँको अभियानप्रति ऐक्यबद्धतासहित समर्थन छ,’ शाहीले भने । अहिले कोरोना महामारी भएकाले डा. केसी स्वास्थ्यको चिन्ता रहेको उनको भनाइ छ । 

    नेकपा कर्णाली प्रदेश सदस्य धीरेन्द्र गिरीले पनि डा. केसीको स्वास्थ्यको चिन्ता रहेको बताए । ‘डा. केसीका माग जायज होलान् । उहाँ बेठीक भन्न सकिने अवस्था पनि छैन, तर कोरोनाको अवस्थामा सत्याग्रह अलि फलदायी हुँदैन कि भन्ने हाम्रो चिन्ता हो,’ गिरीले भने । अब जुम्लामा दिनप्रतिदिन चिसो बढ्दै जाने भएकाले डा. केसीको स्वास्थ्य कमजोर हुन सक्ने उनको भनाइ छ । 

    मजदुर किसान पार्टीका अध्यक्ष शिवलाल डाँगीले उनको मागप्रति नैतिक समर्थन रहेको बताए । ‘उहाँका मागप्रति हुबहु समर्थन नहोला । तैपनि सरकारले माग सम्बोधन गर्छौैँ भनेर सम्झौता गर्ने, तर सम्बोधन नगर्ने, यो पनि तरिका मिलेन,’ डाँगीले भने । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य बलिराज शाहीले डा. केसीले उठाएका माग जनताको हितमा रहेको बताए । ‘कर्णालीजस्तो दूरदराजका जनतालाई निःशुल्क स्वास्थ्य सेवाको पहुँचमा ल्याउनुपर्छ भन्ने माग नाजायज होइनन् । हाम्रो पार्टीको पूर्ण समर्थन छ, राज्यले उहाँका माग सम्बोधन गर्नुपर्छ,’ शाहीले भने ।

    उनी दोस्रोपटक जुम्लामा सत्याग्रह बसिरहेका छन् । अघिल्लोपटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्याग्रहमा बसेका थिए । त्यतिवेला आफूसँग सरकारले गरेको सम्झौता अझै पनि कार्यान्वयन नगरेकाले सत्याग्रहमा बस्नुपरेको उनले बताएका छन् ।

    साभारः नयाँपत्रिका