४ वर्ष पहिले
काठमाडौं। सरकारको महत्त्वाकांक्षी मध्येको २२ अर्ब रूपैयाँ लागत आउने परियोजना नागढुंगा-नौबिसे सुरुङमार्ग शिलान्यासको वर्षदिन पुग्न लाग्दा पनि मुख्य काम सुरू भएकै छैन । जापानी विज्ञ, इन्जिनियर र प्राविधिकहरूको टोली आउने मिति टुंगो भएपछि आगामी साताबाट सुरुङ खन्ने काम औपचारिक रूपमा अघि बढ्ने भएको छ ।
आगामी शुक्रबार टोकियोबाट नेपाल एयरलाइन्सको चार्टर उडानमा विज्ञ र प्राविधिक सहितको टोली काठमाडौं आउन लागेको हो । चार्टर उडानमार्फत १९ जना आउने टुंगो भएको आयोजनाले जनाएको छ ।
यसरी आउनेमध्ये १३ जना नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका लागि र ६ जना खानेपानी आयोजनाका प्राविधिक छन् । सुरुङमार्ग निर्माणको जिम्मा पाएको जापानी कम्पनी हाज्मा-आन्दो कर्पोरेशनले मर्दिखोलाको पानी प्रशोधन गरेर पिउन योग्य बनाएर पोखरामा वितरण गर्ने योजनाको पनि ठेक्का पाएको छ । खानेपानी मन्त्रालय अन्तर्गतको उक्त आयोजना मेलम्चीपछिको दोस्रो ठूलो प्रोजेक्ट हो ।
पोखरा महानगरमा रहेको लामो समयदेखिको खानेपानीको समस्या हटाउन उक्त आयोजना निर्माणाधीन छ। त्यसका लागि पनि इन्जिनियरहरु पनि नेपाल आउन लागेका हुन्। जापानी प्राविधिकहरूलाई ल्याउन सबै प्रक्रिया पूरा भइसकेको आयोजनाले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको कोरोना संक्रमण सुरक्षा सम्बन्धी गाइडलाइन पालना गरेर उनीहरुले काम सुरु गर्नेछन् । नागढुंगा-नौबिसे सुरुङमार्गका लागि अहिले पनि स्वास्थ्यको गाडइलाइन पालना गरेर काम जारी राखिएको छ । जापानी र केही अरु देशका सहित करिब १ सय ५० जनाले आयोजनामा काम गरिरहेका छन् । सुरुङमार्ग बाहिरको कल्भर्ट बनाउने, माटो भर्ने र आवश्यक संरचना तयार पार्ने लगायतका कामहरु भइरहेका छन् ।
विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले भने ‘जापानीजहरूको टोली आएपछि मुख्य सुरुङमार्गको काम सुरू हुनेछ ।’ आयोजनाअन्तर्गत सुरूङमार्ग क्षेत्रमा बाहिरको काम भइरहेको भए पनि अहिलेसम्म मुख्य सुरुङमार्गको काम सुरु भएको छैन । उनीहरु आएपछि सुरुङ खन्न थाल्ने आयोजनाको तालिकामा छ ।
सुरुङमार्ग खन्न सुरु गर्नका लागि आवश्यक अधिकांश इक्विपमेन्टहरु साइटमा आइपुगेका छन् । ३०० टन विस्फोटक पदार्थ ल्याउनका लागि समेत कम्पनीले सेनाबाट स्वीकृति पाएर प्रक्रिया थालिसकेको छ । करिब २० देखि २५ मिटर मेसिन प्रयोग गरेर सुरुङको आकार निकालेपछि मात्रै कडा चट्टान हटाउन विस्फोटक पदार्थको प्रयोग गरिनेछ ।
सुरुङमार्ग निर्माणका लागि ड्रिलिङ एण्ड ब्लास्टिङ, टनेल बोरिङ मेसिन, कट एण्ड कभर, हाइड्रोलिक ज्याकिङ गरि सुरुङमार्ग बनाउने चार विधि हुन्छन् । ड्रिलिङ एण्ड ब्लाष्टिङ विधिबाट यो सुरुङमार्ग निर्माण गर्न लागिएको हो । खानेपानी र जलविद्युतमा नेपालका केही बाहेक अधिकांश सुरुङमार्ग यही विधिबाट निर्माण गरिएको छ ।
जसमा ड्रिल गरेर होल खोपिन्छ, त्यसमा विस्फोट गरिन्छ । सुरुङमार्ग दुवैतिरबाट निर्माण हुने भए पनि सुरुवात भने धादिङतिरको पोर्टलबाट गर्ने तयारी छ । पानीको सिपेज मिलाउन र अरु प्राविधिक कारणले धादिङबाट खन्न सुरु गरेपछि मात्रै काठमाडौंतिरबाट खन्न थालिनेछ ।
जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको यो सुरुङमार्ग चन्द्रागिरि नगरपालिका-१ सउए टुटीपाखाबाट धादिङको धुनिबेंसी नगरपालिकाको सिस्नेखोला निस्कन्छ । जसको लम्बाइ करिव २.७ किलोमिटर हुनेछ। दुइ लेनको सुरुङमार्गसँगै समानान्तर हुनेगरि स्केप्ट टनेल निर्माण हुनेछ । जुन प्रत्येक २५० मिटरमा मुख्य सुरुङमार्गसँग भित्र-बाहिर गर्न मिल्ने गरि जोडिनेछ । भित्र दुर्घटना भए वा समस्या आए बाहिर निस्कनका लागि प्रयोग हुनेछ । एम्बुलेन्स समेत सहजै हिड्न सक्ने गरि स्केप्ट टनेल निर्माण हुनेछ ।
सुरुङमार्ग बाहिर लिकं रोड, फ्लाईओभर, ब्रिज, कल्भर्ट, कन्ट्रोल रुम, टोल गेट लगायतका संरचना निर्माण हुनेछन् । दुईवटा फ्लाइओभर निर्माण हुनेछ । त्रिभुवन राजपथको गुर्जुधाराबाट सुरुङमार्गतिर जाने सवारीसाधनका हिड्न डेडिकेटेड इन्टर-सेक्सनका लागि फ्लाइओभर निर्माण गर्न लागिएको हो । यो करिब सात सय मिटर लम्बाइको हुनेछ । जसको उद्देश्य सवारी साधनको आवतजावतलाई नरोक्नु हो । त्यस्तै सुरुङमार्गको मुखअघि एउटा अर्को फ्लाइओभर निर्माण हुनेछ ।
विद्यमान सडकलाई फ्लाइओभरमार्फत पठाइनेछ । जुन सडक सुरुङमार्गको सीधा अगाडि पर्छ । त्यसैगरि सुरुङमार्गको पश्चिमतर्फ ५६५ मिटर र पूर्वतर्फ २ हजार ३०७ मिटर लिंक रोड निर्माण हुनेछ ।
गत कात्तिक ४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले यो सुरुङमार्ग निर्माणको शिलान्यास गरेका हुन् । शिलान्याससँगै औपचारिक रूपमा थालिए पनि बिभिन्न कारणले कामले गति लिन सकेको छैन । मुआब्जा विवाद र मास्टर लिष्ट तयार पार्ने लगायतका तयारी थाल्दा केही समय काम हुन सकेन ।
स्थानीयको अवरोधका कारण धादिङ पोर्टलबाट जापानीहरु फर्किनु पर्यो । चैतदेखि कोरोना भाइरसको संक्रमण फैलन रोक्न लकडाउन भयो । त्यसपछि निषेधाज्ञा लगाइयो । अहिले निषेधाज्ञा खुकुलो भएपछि कामले पुनः गति लिन थालेको हो । शिलान्यास भएको करिब एक वर्षपछि सुरुङमार्ग औपचारिक रूपमा निर्माण थाल्ने तयारी छ ।
करिब ४२ महिनामा सक्ने लक्ष्य रहेको यो नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग हो । निर्माण सम्पन्न हुन भने लक्ष्यभन्दा केही ढिला हुने देखिएको छ ।
श्राेतः बिजमाण्डु