× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    विश्वकप छनौट खेलमा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकियो

    ४ वर्ष पहिले

    एजेन्सी – विश्वकप २०२२ कतारको दक्षिण अमेरिकी छनोट अन्तर्गत तेस्रो खेलमा अर्जेन्टिना घरेलु मैदानमा पाराग्वेसँग १-१ को बराबरीमा रोकिएको छ । यस नतिजासँगै अर्जेन्टिना विश्वकप छनोटमा लगातार तेस्रो जित दर्ता गर्नबाट बन्चित भयो ।
    अर्जेन्टिनाको ला बाम्बोनेरामा सम्पन्न खेलमा भ्रमणकारी पाराग्वेले २१औं मिनेटमा अग्रता लिएको थियो। पाराग्वेले एन्जेल रोमेरोको पेनाल्टी गोलबाट अग्रता लिएको हो। मिुगएल एलमिरोनलाई अर्जेन्टिनाका रक्षक लुकास मार्टिनेजले फाउल गरेपछि पाराग्वेले पेनाल्टी अवसर पाएको थियो।
    एक शून्यले पछि परे पनि बाँकी समयमा अर्जेन्टिना पाराग्वेमाथि हाबी भएको थियो। पहिलो हाफ सकिन चार मिनेट बाँकी हुँदा निकोलस गोन्जालेजले बराबरी गोल फर्काए। गोन्जालेजको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो।
    दोस्रो हाफको ५८ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएन । लो सेल्सोको पासमा मेस्सीले पहिलो टचमा गरेको प्रहार गोल भएपनि उक्त मुभका क्रममा मिडफिल्डमा डोमिन्गेजबाट फल भएको देखिएपछि गोलले मान्यता पाएन । ७३ औं मिनेटमा मेस्सीकै प्रहारमा गोलरक्षक एन्टोनि सिल्भाले उत्कृष्ट डाइभ बचाउ गरेपछि खेल बराबरी नै रहयो ।
    यस बराबरीका बाबजुद प्रतियोगितामा अपराजित रहेको अर्जेन्टिना तीन खेलबाट सात अंक जोड्दैअंक तालिकाको शीर्ष स्थानमा कायमै छ। पाँच अंक जोडेको पाराग्वे भने चौथो स्थानमा छ।
    आजै तेस्रो स्थानमा रहन सफल इक्वेडरले पुछारको बोलिभियालाई ३(२ ले पराजित गर्‍यो। तीन खेलबाट ६ अंक जोडेको इक्वेडर तेस्रो स्थानमा रहँदा बोलिभियाले अंक जोड्न सकेको छैन।