४ वर्ष पहिले
डा. अरुणा उप्रेती
चाउचाउ सबैको प्रिय खाजा बनेको छ भन्दैमा त्यो स्वस्थकर होइन भन्ने कुरा सबैलाई हेक्का हुनुपर्छ। चुरोट र रक्सीमा पनि ‘लोकप्रिय ब्राण्ड’ हरू छन्। तर, स्वस्थकर होइनन्। चाउचाउ पनि त्यस्तै हो।
बालबालिकाले खाना खाएनन् भनेर आमाबाबु जंक फुड अर्थात् पत्रु खाना खुवाउँछन्। पत्रु खाना चाउचाउ मात्र नभएर बिस्कुट, कुरमुरे, आलु चिप्स पनि हुन्। छोराछोरी रोए भने या भनेको मानेनन् भने फकाउनका लागि पनि पत्रु खाना दिने चलन छ। त्यहीकारण गाउँदेखि शहरसम्म कुपोषणको समस्या भएको
चाउचाउले अन्य खाजालाई विस्थापित गरेकोबारे समाचार आयो तर, चाउचाउ, बिस्कुट, चकलेट दिएर छोराछोरी फकाउने बाबुआमालाई यस्ता खानेकुरा कति अस्वस्थकर छन् भन्ने हेक्का छैन। त्यस्ता खानेकुरा अस्वस्थकर भएको थाहा दिनु जरुरी छ। तर, प्याकेटका यस्ता खानाले हानि गर्छ भन्ने कतिलाई थाहा हुँदा पनि छोराछोरीको स्वास्थ्यप्रति बेवास्ता गर्छन्।
धेरैलाई ‘स्वादिलो र पकाउन छिटो’ भन्ने मानसिकताले यी खाना खान र खुवाउन प्रेरित गरेको छ। यस्ता खानामा राखिएको मैदा स्वास्थ्यको लागि मन्द विष हो। त्यस्तै चाउचाउमा हुने तेल र मसलामा पनि गुणस्तर हुँदैन।
मैदाले कब्जियत गर्छ। यसमा पोषण तत्व पनि हुँदैन। चाउचाउमा लेखिएभन्दा ३७ देखि २०० प्रतिशत बढी नुन भएको विभिन्न अध्ययनमा पाइएको छ। नुन बढी खाँदा मिर्गौलामा अनेक समस्या आउँछ। मिर्गौलाको समस्याले शरीरका सम्पूर्ण अंगमा हानि पुर्याउँछ।
बालबालिकालाई पत्रु खानाको बानी आमाबुबाले गर्दा नै पर्छ। अनि त्यो बानी पछिसम्म छुट्दैन। सानोको ‘माया’ले उमेर नपुग्दै अनेक थरीका शारीरिक रोग लाग्छ। दाँत कमजोर हुन्छ। १०–१५ वर्ष नपुग्दै दाँतमा कीरा लागेर दन्तरोग विशेषज्ञकहाँ पुग्नुपर्छ।
पत्रु खाना चाउचाउ, बिस्कुट आदिको भ्रमपूर्ण विज्ञापनले गर्दा बालबालिकाको आकर्षण बढेको छ। त्यसैले अभिभावकले आफ्ना छोराछोरीलाई भान्सामा पाक्ने खानेकुराको महत्व सिकाउनुपर्छ। तर, कति अभिभावक घरमा पकाउँदा धेरै समय लाग्ने र प्याकेटका खानेकुरा दिंदा छिटो हुने र झन्झट पनि नहुने भ्रममा छन्।
अहिले एकछिनको आनन्दले जीवनभर आफ्ना सन्तान रोगी भएर बाँच्दा के आनन्द हुन्छ र खाना खान नमान्ने बच्चाले चाउचाउ, कुरमुरे जस्ता प्याकेटका खानेकुरा हालेर दियो भने भात खान्छ भन्ने कति आमाबुबालाई भ्रम छ। त्यसमाथि बच्चाले स्वाद लिएर खाएको देखेर खुशी हुन्छन्। तर, यो खुशी कति रहला र जब २०–२२ वर्षको उमेरमा नै सन्तानहरू मोटा हुन्छन्, चिनी रोग लाग्ने सम्भावना बढ्छ। शिशु अवस्थादेखि नै बजारमा पाइने प्याकेजिङ खानेकुरा खुवाउने बानी बसालेपछि छोराछोरीमा पछिसम्म चुरोट र रक्सी खानेको जस्तै लत बस्छ।
झन् अहिले कोरोनाभाइरस महामारीको वेला स्वस्थकर खानाको महत्व बढेको छ। व्यापारीहरूको भलो हेर्ने सरकारले यस्तो काम गर्ने छैन । बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै आमसञ्चारका माध्यमबाट अस्वस्थकर खानाबारे सूचना प्रवाह गर्नुपर्छ।
आमसञ्चारका माध्यमबाट दिइने भ्रमपूर्ण विज्ञापनका कारण बाबुआमाले साना नानीलाई स्कूल जाँदा पनि बिस्कुट, कुरमुरे हालेर पठाउँछन्। अनि दाल, भात, रोटी त बालबालिकाले हेर्नै चाहँदैनन्। होटलमा राखिएको पत्रु खानाको होर्डिङ बोर्ड, टि।भी रेडियोमा बालबच्चालाई नै प्रयोग गरेर बनाइएका प्रचार सामग्रीले पत्रु खानाप्रति आकर्षित गर्छ।
यस्तो प्रचारलाई सरकारले नियन्त्रण गर्न चाहँदैन। स्वास्थ्य मन्त्रालयले पत्रु खानाको नकारात्मक असरका बारेमा अभिभावकमा चेतना जगाउँदैन। अनि आम मानिसले ‘यदि यस्तो पत्रु खाना अस्वस्थकर भए त सरकारले भनिहाल्थ्यो नि’ भन्ने ठान्छन्। त्यसकारण आमसञ्चारका माध्यम र अभिभावकका कारण अहिलेका बालबालिका भविष्यमा पीडित बन्ने छन्। यसमा उनीहरुको दोष छैन।
पत्रु खानामा क्याल्सियम, भिटामिन, खनिजजस्ता तत्व हुँदैनन्। वा अति नै कम हुन्छ। अनि बच्चा कुपोषित भई शारीरिक, मानसिक र संवेगात्मक विकासमा बाधा पुग्छ। तर, यो कुरा पनि धेरै विस्तारै हुनाले प्रायः कमैको ध्यान जान्छ।
पत्रु खानामा अत्यधिक मात्रामा चिल्लो, नुनिलो र गुलियो पदार्थ हुन्छ। बालबालिकामा मोटोपन बढ्छ। अनि केही वयस्क नहुँदै उच्च रक्तचाप, मधुमेह, हड्डी कमजोर हुनेजस्ता समस्या देखिन्छ। मैले चिनेको एक १८ वर्षीय किशोर १०० केजीका छन्। किनभने उनले सानैदेखि पिज्जा, चाउचाउ र गुलियो पेय पदार्थ खाए। अहिले कलेज जान थालेपछि लाज भएर तौल कम गर्ने प्रयासमा छन्।
तौल कम गर्न खानुपर्ने स्वस्थकर खाना दाल, तरकारी, रोटी उनलाई मन पर्दैन। एकदिन स्वस्थकर खाना खान्छन्, तर रक्सी र चुरोटमा जस्तै लत बसेकोले उनी चाउचाउ र बर्गर छोड्न सक्दैनन्। अनि भोलिपल्ट फेरि पत्रु खाना खाइहाल्छन्। यसरी बुबाआमाले आफ्ना सन्तानका लागि आफू अनुशासनमा नबस्दा उनको जीवन समस्याग्रस्त बनेको छ। उनी अहिले धेरै हिंड्न सक्दैनन्, खेल्न र उफ्रिन त परै जाओस्। ढाड र घुँडा दुखिरहन्छ।
कति जनालाई त ‘खाजा भनेकै चाउचाउ’ भने भ्रम छ। तर, स्थानीयस्तरमा सजिलै बनाउन सक्ने खाजाबारे छलफल हुनै पर्छ। च्यूरा, मकै, भुटेको भात, चना, अण्डा, सखरखण्ड, तरुल, रोटी, हलुवा, भुटेको आलु आदि धेरै खाजाहरूलाई पुनर्स्थापना गर्नुपर्छ। भान्सामा पाक्ने दाल, भात, तरकारी, रोटी, आलु, भटमास, बारीमा फलेको मौसमअनुसारका फलफूल सस्तो र पौष्टिकयुक्त हुन्छन्।
शारीरिक समस्याबाहेक पत्रु खानाले मानसिक स्वास्थ्यमा पनि समस्या पर्छ भनेर विभिन्न अध्ययनले देखाएको छ। गर्भवतीले चाउचाउ, बिस्कुट, गुलियो पेय पदार्थ जस्ता पत्रु खाना खाँदा भ्रूणको स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै बच्चाको मानसिक स्वास्थ्यमा पनि नराम्रो असर पर्ने भन्ने अमेरिकन एकेडेमी अफ चाइल्ड एण्ड एडोलसेन्ट साइकियाट्री संस्थाको अनुसन्धानमा उल्लेख छ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई कोरोना संक्रमित भएर जटिलता उत्पन्न भएपछि मात्र बुझे कि उनको अत्यधिक मोटोपनले समस्या परेको रहेछ। अनि बल्ल उनले बेलायतमा ६४ प्रतिशत मानिस अत्यधिक मोटो भएकाले पत्रु खानाको जथाभावी विज्ञापनमा रोक लगाउनुपर्छ भन्ने बुझे। पहिले उनी बजारलाई स्वतन्त्र छोडिदिनुपर्ने विचार राख्थे।
यति धेरै समस्या पर्छ भनेर थाहा पाएपछि पनि बालबालिकालाई कसैले पत्रु खानारखाजा दिनु उचित हुन्छ ररु आजैबाट खानामा अनुशासित बनौँ।
साभार: हिमालखबर