× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    खर्च विवरण पेश नगर्ने ९ स्थानीय तहको अनुदान बागमती प्रदेश सरकारले रोक्यो

    ४ वर्ष पहिले

    गत वर्ष उपलब्ध गराएको अनुदान रकमको खर्च विवरण पेश नगर्ने स्थानीय तहलाई बागमती प्रदेश सरकारले कारवाही गरेको छ ।

    प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६\०७७ मा अनुदान दिएको नौ वटा स्थानीय तहको चालू वर्षको अनुदान रोक्का गरेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालयले चालू आव २०७७र०७८ को पहिलो चौमासिकमा दिनुपर्ने अनुदान रकम हाललाई रोकेको जानकारी दिएको छ । अनुदान रोकिएको स्थानीय तहको नाम भने कार्यालयले गोप्य राखेको छ ।

    प्रदेशका एक सय १९ वटा स्थानीय तहमध्ये एक सय १० वटा स्थानीय तहले भने गत वर्षको अनुदान रकमको खर्च विवरण पेश गरेका छन् । तीमध्ये पनि कतिपयले विवरण पेश गरेता पनि खर्च नभएको रकम फिर्ता नगरेका कारण उनीहरुको पनि चालू वर्षको अनुदान रोकिएको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी लेखा अधिकृत राजेन्द्रप्रसाद पाण्डेले बताए ।

    खर्च विवरण प्रदेशमा बुझाउनु पर्ने प्रावधान छ । कार्यालयका अनुसार खर्च नभएको रकम प्रदेश सञ्चित कोषमा फिर्ता गरेपछि मात्रै चालु आ.वमा छुट्याइएको अनुदान रकम विभिन्न चार किस्तामा भुक्तानी दिइने प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी पाण्डेले पालिका खबरलाई जानकारी दिए ।

    ‘आर्थिक मामिला मन्त्रालयबाट स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गर्दा केही समयभित्रै खर्च विवरण पेश गर्ने र खर्च हुन बाँकी रकम भए फिर्ता गर्ने भन्ने प्रतिवद्धता व्यक्त भएको छ’, सूचना अधिकारी पाण्डेले भने, ‘उनीहरुले ढिलो चाँडो विवरण पेश गर्न सक्लान, त्यसैले अहिले नै नाम भने सावर्जनिक नगरौं ।’

    प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७\०७८ मा विशेष अनुदानतर्फ २९ करोड ७० लाख, समपुरक अनुदानबापत २ अर्ब ६३ करोड १६ लाख, वित्तीय समानीकरणतर्फ एक अर्ब २५ करोड र सशर्त अनुदानतर्फ ३ अर्ब ६ करोड ४५ लाख रुपैयाँ छुट्याएको छ ।

    त्यसमध्ये महानगरपालिकालाई २ करोड ९९ लाख, उपमहानगरपालिका २ करोड ८० लाख, नगरपालिकालाई एक अर्ब ३ करोड १४ लाख र गाउँपालिकालाई एक अर्ब ५४ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    विशेष अनुदान, सशर्त अनुदान, समपुरक अनुदान र वित्तीय समानीकरण अनुदान गरी बागमती प्रदेशका स्थानीय तहलाई गत आवमा ४ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ पठाइएको थियो । त्यसमध्ये बित्तीय समानीकरण अनुदानबापतको एक अर्ब २४ करोड ८६ लाख रुपैयाँ छ ।

    उक्त रकम भने खर्च नभएता पनि स्थानीय तहले फिर्ता गर्नुपर्दैन । त्यसबाहेकको ३ थरी अनुदानको रकम भने खर्च नभएमा प्रदेशमै फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।

    प्रदेशले बितेको आवमा सशर्त अनुदानबापत सबै स्थानीय तहलाई गरी एक अर्ब ७८ करोड ७१ लाख रुपैयाँ पठाएको थियो । त्यस्तै, समपुरक अनुदानबापत ७७ वटा स्थानीय तहलाई एक अर्ब २२ करोड ७८ लाख रुपैयाँ निकासा दिइएकोे प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । स्थानीय तहले विवरण नपठाउँदा त्यसमध्ये कति रकम खर्च भयो र कति फिर्ता आउनुपर्ने भन्नेबारे अन्यौल छ ।पालिकाखबर बाट