× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    अलविदा ! फुटबल लिजेन्ड म्याराडाेना

    ४ वर्ष पहिले

    फुटबल लिजेन्ड डिएगो म्याराडोनाको हृदयघातका कारण ६० वर्षको उमेरमा मृत्यु भएको छ । बेलायती पत्रिका द सनले अर्जेन्टिनी समाचारपत्र क्लारिनलाई उदृत गर्दै अर्जेन्टिनी फुटबलर म्याराडोनाको हृदयघातका कारण मृत्यु भएको पुष्टि गरेको छ ।

    पूर्व अर्जेन्टिनी आक्रामक मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको घरमै रहेका बेला हृदयघातका कारण निधन भएको हो । उनको मष्तिष्कमा रक्तश्राव भएपछि उनी अस्पताल भर्ना भएका थिए । तर, म्याराडोनाको परिवारबाट भने मृत्युको पुष्टि हुन बाँकी रहेको दी सनले जनाएको छ । म्याराडोना नेतृत्वको टोलीले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए ।

    त्यतिबेला उनले इङ्ग्ल्यान्डविरुद्धको खेलमा गरेको महत्त्वपूर्ण गोल विवादित बनेको थियो । उनको यसअघि मस्तिष्कको शल्यक्रिया गरिएको थियो । म्याराडोनाको मस्तिष्कमा रक्तस्राव भएको आशङ्कामा नोभेम्बर महिनाको सुरुतिर शल्यक्रिया गरिएको थियो । सन् १९९७ मा खेल जीवनबाट सन्न्यास लिएपछि म्याराडोनाले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या खेप्नुपरेको थियो । आफ्नो फुटबल क्लब करिअरमा उनले बार्सिलोना र नेपोलीबाट खेले। नेपोलीबाट उनले दुई सिरी एको उपाधि समेत जितेका थिए ।

    सन् १९६० अक्टोबर ३०मा उनको जन्म भएको थियो ।म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेल खेल्दै ३४ गोल गरेका छन।

    अर्जेन्टिनाबाट उनले चारवटा विश्वकप खेलेका थिए । सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिनालाई उनले फाइनलसम्म पुर्याएका थिए। तर उक्त विश्वकपमा तत्कालिन वेष्ट जर्मनीसँग फाइनलमा पराजित हुँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्न चुक्यो ।

    फुटबल जीवनको दोस्रो हाफमा भने म्याराडोना लागुऔषध प्रयोग गर्न थालेका थिए। १९९१ मा उनलाई लागुऔषध प्रयोग गरेकै कारण १५ महिना प्रतिबन्ध लगाइएको थियो । उनले ३७ वर्षको उमेरमा १९९७ मा व्यवसायिक फुटबलबाट सन्न्यास घोषणा गरेका हुन् । २००८ मा म्याराडोना अर्जेन्टिनी टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए। तर २०१० को विश्वकप पछि भने उनले उक्त पद छाडे । अर्जेन्टिना उक्त विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको थियो।