× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    अमेरिकाको लस एन्जलसमा सोमबारदेखि लागु हुनेगरी प्रतिवन्धात्मक व्यवस्थाहरुको घोषणा

    ४ वर्ष पहिले

    मंसिर -१३,अमेरिकाको लस एन्जलसमा घरमै बस्नुपर्ने लगायतका प्रतिवन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिवन्धात्मक व्यवस्थाहरुको घोषणा गरेको हो ।

    देशकै सवैभन्दा धेरै जनसङ्ख्या रहेको ठाउँको रुपमा चिनिएको लस एन्जेलसमा आम मानिसलाई भिडभाड गर्न रोक लगाइएको छ । भिडभाड हुने व्यापार व्यवसाय पूर्ण रुपमा प्रतिवन्ध लगाइएको छ भने अन्य व्यापार व्यवसायका लागि उच्च सतर्कता अपनाउनु पर्ने व्यवस्था गरिएको छ ।

    तीन हप्ताका लागि घरमै सुरक्षित भन्ने नाराका साथ आह्वान गरिएको निर्देशन आगामी सोमबारदेखि लागु हुनेछ । झण्डै एक करोड जनसंख्या रहेको यस क्षेत्रमा थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने नयाँ चार हजार ५४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्थानीय प्रशासनले जारी गरेको निर्देशनमा सम्भव भएसम्म घरमै बस्न र घरभन्दा बाहिर निस्कनै परेमा मुख ढाक्ने चिज लगाउन आग्रह गरिएको छ । सार्वजनिक वा व्यक्तिगत रुपमा पनि कुनै घरपरिवारले भिडभाड तथा जमघट गराउन नपाइने कुरा पनि निर्देशनमा उल्लेख गरिएको छ ।

    चर्चमा काम गर्ने र विरोध प्रदर्शनमा उत्रिनेहरुलाई भने यो निर्देशन अनिवार्य नगरिएको अधिकारीहरुले जनाएका छन् । संविधानमा उल्लेखित अधिकारको रक्षाका लागि यस्तो व्यवस्था गरिएको उनीहरुको भनाई छ ।रासस