× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    रमेश विकल साहित्य प्रतिष्ठानद्वारा विविध विधामा पुरस्कार घोषणा

    ४ वर्ष पहिले

    साहित्यकार रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कारका विजेताहरुको नाम घोषणा गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले विहीवार विज्ञप्ति जारी गर्दै पुरस्कार विजेताहरुको नाम सार्वजनिक गरेको हो ।

    प्रतिष्ठानका अनुसार यस वर्षका पुरस्कारहरू वाङमय (साहित्य), समाजसेवा र कला संगीतका क्षेत्रमा स्थापित विभिन्न प्रतिष्ठित व्यक्तित्वलाई प्रदान गरिने छ । प्रतिष्ठानद्वारा गठित समितिले गरेको सिफारिस अनुसार सम्मानित हुने प्रतिभाहरूको नाम सिफारिस गरिएको हो ।

    प्रतिष्ठानका सदस्य मातृका पोखरेलको संंयोजकत्वमा गठित समितिका सदस्यहरूमा साहित्यकारद्वय कोषराज न्यौपाने र पुरुषोत्तम सुवेदी छन् । जसअनुसार विकल वाङमय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ ।

    यसैगरी २० हजार रुपैयाँ राशीको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर) लाई प्रदान गरिएको छ । रमेश विकल सिर्जना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतीलाई प्रदान गरिएको छ ।

    साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइ देवी विश्वकर्मालाई प्रदान गरिएको छ ।

    रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने निर्णय गरिएको छ । यी सबै पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । सम्मान र पुरस्कार आगामी पुस ४ गते प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए ।